रामेछापमा मतदाताको संख्या १ लाख ३७ हजार पुग्यो



१७ साउन, रामेछाप ।
आगामी निर्वाचनको लागि रामेछाप जिल्लामा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुले धमाधम नामावली दर्ता गराएका छन् । सरकारले मतदाता नामावलीमा नाम छुटेकाहरुलाई साउन १ गतेबाट देशभर नै नामावली संकलनको कार्य अगाडि बढाएको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार साउन १ गतेदेखि हालसम्म २५ सय जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । विगतमा विभिन्न कारणले नाम छुटेकाहरुले हाल जिल्ला निर्वाचन कार्यालय रामेछाप, रामेछाप जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकाको केन्द्रबाट धमाधम नाम दर्ता गराइरहेका छन् ।


जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल उपाध्यायकाले साउन १ गतेदेखि हालसम्म २५ सय जनाले नामावली दर्ता गराएको बताए । उनले भने,‘मतदाता नामावली सकंलनको कार्य उत्साहपूर्वक चलिरहेको छ, रामेछापमा पछिल्लो चरणमा १२ सय महिला र १४ सय पुरुष रहेका छन् ।’
जिल्ला निर्वाचन कार्यालयमा मात्र सीमित रहेको नामावली संकलनको कार्य साउन १६ गतेबाट रामेछापको ८ वटै स्थानीय तहको केन्द्रबाट सुरु भएको उपाध्यायले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली संकलनको कार्य जारी रहनेछ । रामेछाप जिल्लामा बाह्य जिल्लाबाट बसोबास गर्नेहरुको लागि भने नामावली संकलन गर्नको लागि मन्थली नै धाउनु पर्ने भएको छ ।
मतदाता नामावली सकंलनको लागि स्थानीय तमा चार जना कर्मचारी सहित २ जना सुरक्षाकर्मी खटिएका छन् । मतदाता नामावलीको नाम संकलन गर्नको आउदा नागरिकता सहितको आवश्यक कागजजात लिएर उपस्थित हुन जिल्ला निर्वाचन कार्यालय रामेछापले आग्रह गरेको छ ।
स्थानीय तहको निर्वाचन अघि रामेछापको ८ स्थानीय तहमा १ लाख ३४ हजार ६ सय मतदाता रहेका थिए । पछिल्लो तथ्याङ अनुसार २५ सय मतदाताले नाम दर्ता गराएपछि रामेछापमा मतदाताको संख्या १ लाख ३७ हजार १ सय जना पुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । रामेछापमा हाल २ लाख ४ हजार जनसंख्या रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्