रामेछाप खिम्तीका बाढीपीडितलाई पिरलो: ‘हामी कहाँ बस्ने ?’



२१ साउन, रामेछाप ।

रामेछापको लिखु गाउँपालिका-६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । उनलाई शरीर र हात-गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा मुस्किलले उनको ज्यान बचेको थियो । उक्त घटनाबाट पीडित उनमा शरीर र हात-गोेडा काँप्ने समस्या देखिएको हो ।

बाढीले धार परिवर्तन गरी बस्तीमा पसेपछि उनको साढे दुईतले घर मात्रै बगेन, दुहुनो भैंसीसहित खसी-बाख्रा, कुखुरा र झन्डै ३५ धार्नीको सँगुर पनि बगाएको थियो । गेलुपिटासीका उनी परिवारसहित केही वर्षअघि मात्रै खिम्ती झरेका थिए । उनले दुई वर्षअघि जनहित सहकारीमा लालपुर्जा धितो राखेर कर्जा लिएको दुई लाख ६८ हजार रकमले चार रोपनी दुई आना जग्गा किनेका थिए ।

उनले त्यहीं नै घर पनि ठड्याएका थिए । बाढीले उनको घरजग्गालाई बगरमा परिणत गरिदिएको छ । सहकारीलाई तिर्न ठिक्क पारेर बाकसभित्र राखेको दुई लाख ६८ हजार पनि बाढीले बगायो । बाढीले पैसाभन्दा पनि घरजग्गा पूर्णरूपमा स्वामित्वमा ल्याउने उनको सपना बगाएर लग्यो ।

‘एक-दुई मिनेट ढिला गरेको भए हामी पनि बाढीसँगै बग्थ्यौं । ज्यान बचेकोमा खुसी लागेको छ । तर, यति खेर हामीसँग आफ्नो शरीरभन्दा केही छैन । न बस्ने ठेगान छ न त खाने कुरा नै’, छिमेकीको कटेरोमा आ श्रय लिइरहेका उनले बिलौना गर्दै भने, ‘ऋण गरेर किनेको जग्गा र जोडेको घर बग्यो । त्यही ऋण तिर्न तयार पारेको पैसा पनि बग्यो । अहिले घरबारविहीन छु । शरीर काँप्ने रोग थपिएको छ ।’

अर्का पीडित होमबहादुर खत्री पनि उस्तै पीडामा भेटिए । बाढीको समयमा उनी जिल्लाबाहिर रहे पनि आमालाई बगाएर बेपत्ता बनायो । बोल्न-सुन्न नसक्ने दाजु र भाउजूसहित उनीहरूका दुई छोरी घाइते भए । उनीहरूको राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाढीले परिवारलाई छिन्नभिन्न पारिदिएपछि उनी पनि गाउँमै विरक्त अवस्थामा भेटिएका हुन् । ‘आमा बित्नुभयो । बोल्न र सुन्न नसक्ने दाइको सम्पत्ति केही बाँकी छैन ।

परिवारका सबैले उपचार गराइरहनुपरेको छ’, आमाको अन्तिम कर्म सकाएर बरखीको सेतो कपडामा भेटिएका उनले भने, ‘दाइको परिवारको बिचल्ली हुने भयो ।’ बाढीमा जायजेथा सबै गुमाएका टंक खत्रीको व्यथा पनि उस्तै छ । बाढीले घर र १० रोपनी खेत बगाएपछि उनी पनि घरबारविहीन बनेका छन् ।

मध्यरातमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएका थिए । तीन जना बेपत्ता भएका थिए । उनीहरूको मृत्यु भएको ठानी मृत्युपछि गरिने सबै कर्म गरिसकिएको छ । बाढीले अन्य सम्पत्तिसँगै १२ परिवारको घर बगाएको छ भने ६० घरधुरी बस्न नहुने अवस्थामा छन् ।

बाढीबाट ज्यान जोगाए पनि घरजग्गा र भएका सम्पत्ति गुमाउनुपरेकाले पुनःस्थापनाको चिन्ताले सताएको छ । लिखु गाउँपालिकाले मृतकका परिवारलाई जनही २५ हजार तथा घर पूर्णरूपमा क्षतिग्रस्त बनेको १२ घरलाई पुनर्वासका लागि ५० हजार, लत्ताकपडाका लागि १५÷१५ हजार उपलब्ध गराएको छ । त्यससँगै अन्य निकाय र सहयोगी संस्थाबाट पनि राहत सामग्री उपलब्ध भइरहेका छन् ।

उनीहरूलाई कहाँ र कसरी पुनःस्थापित गराउने भन्नेबारे केही निर्णय भएको छैन । चाँडै पुनःस्थापना प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग छ । ‘पहिले घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ । छिमेकीको घरमा आ श्रय लिएर बस्नुपरिरहेको छ’, भविष्यप्रति चिन्तित हुँदै शम्भुले भने, ‘अर्काको घरमा यसरी कति दिन बस्न दिन्छन् ? थाहा छैन । हामी त्यसपछि कहाँ जाने । सरकारले चाँडै व्यवस्था गरिदियोस् ।’

अर्का पीडित टंकको पनि यस्तै माग छ । ‘हाम्रो कमाई खाने खेतको नामोनिसान छैन । अब खेती-किसानी गरेर खाऊँ भने पनि ठाउँ छैन । टाउको लुकाउने घर बनाउन पनि ठाउँ छैन’, उनले भने, ‘अब सरकारले नै हेरिदिनुपर्छ । तर, चाँडै गरिदियोस् ।’

गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहालले बाढीपीडितलाई पुनःस्थापनाको प्रयास भइरहेको बताइन् । ‘बाढीबाट पीडितको तत्काल उद्धार गर्नु थियो । त्यो मानवीय उद्धार भइसकेको छ । त्यसपछि उनीहरूको पुनर्वासका लागि गाउँपालिकाले तत्काल केही रकम उपलब्ध गराइसकेको छ । उनीहरूको पुनःस्थापनाका लागि पनि गाउँपालिकाले पहल गर्ने नैछ’, उपाध्यक्ष दाहालले भनिन्, ‘तत्काललाई बाढीले ठप्प भएको खानेपानी र सिँचाइको सम्बन्धमा पनि काम गर्नुपरेको छ ।’

-अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्