रामेछापमा एमालेले चुनाव जित्दा कांग्रेस माओवादीभित्र एक भोटको चर्चा



२१ साउन, रामेछाप ।
रामेछापको स्थानीय तहको निर्वाचनमा एमाले सुविधाजनक बहुमतमा छ । ८ वटा स्थानीय तह मध्ये नेकपा एमालेले पाँच स्थानमा प्रमुख र चार स्थानमा उपप्रमुख जितेको छ । जिल्ला समन्वय समितिमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने प्रावधान भएपनि एमालेले जित्ने निश्चित नै थियो । जिल्लाको १६ जना प्रमुख उपप्रमुख मध्ये एमालेसँग मात्र ९ जना छन् ।
एमालेको तर्फबाट साउन २० गते हुने जिल्ला समन्वय समितिको निर्वाचन मार्फत औपचारिक घोषणा हुन मात्र बाँकी थियो । तर एमालेभित्रबाट नै अन्तरघात हुने आशंकामा साउन १९ गते एमालेका ९ जना प्रमुख उपप्रमुखलाई एउटै होटलमा राखेर दायाँबाया नगर्न उर्दी जारी गरेको स्रोतले बतायो ।
कांग्रेस र माओवादी गठबन्धले एक भोट मात्र आफ्नो पक्षमा ल्याए निर्वाचनमा बराबर मत हुने अवस्था सृजना हुने भन्दै एमालेले चलखेल हुन नदिनको लागि आफ्ना प्रमुख उपप्रमुखलाई कसैसँग पनि सम्पर्क गर्न नदिएको स्रोतको भनाई छ ।
साउन २० गते भएको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनले हार्ने निश्चित भएर पनि प्रमुख उपप्रमुखमा उम्मेदवारी दिएको थियो । सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्र निर्वाचनमा मतदान गरेपछि बाहिरीए । किनकी हार्ने पक्का थियो । मतदान सम्पन्न भएपछि मत गणना गर्ने क्रममा कांग्रेस माओवादीका गठबन्धनको एक भोट रद्द भएपछि निकै हल्लीखल्ली मच्चिकियो ।
सत्ता गठबन्धनको तर्फबाट सात जना मतदाता रहेका थिए । दोरम्बा र सुनापति गाउँपालिकामा माओवादी केन्द्रले नै अध्यक्ष, उपाध्यक्ष जितेको छ भने रामेछाप नगरपालिकामा नगर प्रमुख र उपप्रमुख नै कांग्रेसले जितेको छ ।

उमाकुण्ड गाउँपालिकामा भने कांग्रेसले उपाध्यक्ष मात्र जितेको छ । स्रोतले भन्यो,‘एमालेसँग बहुमत भएर पनि गोप्य मतदान हुने भएकाले ढुक्क थिएन, सत्ता गठबन्धनमा प्रमुख उपप्रमुख दुवै जितेको ठाउँमा भन्दा पनि उपाध्यक्ष मात्र जितेको ठाउँको मतबदर गराउन एमाले सफल भयो ।’ सत्ता गठबन्धनभित्रै बाट मत बदर भएपनि कसले गर्यो भन्ने चासो र खोजीको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्