रामेछापका बाढीपीडितलाई पाँच लाख दिने गृहमन्त्री शर्माको घोषणा



२१ साउन, रामेछाप ।
गृहमन्त्री जनार्दन शर्माले रामेछापको खिम्ती खोलाका गएको बाढीपहिरोको कारण जोखिममा रहेका बस्ती तत्काल सार्न निर्देशन दिएका छन् । उनले बाढीपहिरोबाट थप जनधनको क्षति हुन नदिनको लागि बस्ती स्तान्तरण गर्न निर्देशन दिएका हुन् ।
शनिवार रामेछापको लिखु गाउँपालिका–६ छतिवनेमा आएको बाढी पहिरोको स्थलगत अवलोकन गर्दै मन्त्री शर्माले जोखिमयुक्त बस्ती सार्न प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र लिखु गाउँपालिकालाई निर्देशन दिएका हुन् ।

मन्त्री शर्माले भने,‘बस्ती सार्ने योजना तत्काल अगाडि बढाउनु, बजेटको अभाव सरकारले हुन दिदैन, त्यसको लागि म पहल गर्छु ।’ उनले बाढीबाट प्रभावित भएका परिवारहरुको लागि सरकारले २५ हजार रुपैयाँ राहत दिनको लागि मन्त्रीपरिषद्बाट स्वीकृत गराइसकेको समेत जानकारी गराए ।

गृहमन्त्री शर्माले रामेछापका भुकम्प पीडितलाई भुकम्प पीडितझै जग्गा खरिद गर्न २ लाख र घर निर्माण गर्नको लागि तीन लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । गृहमन्त्री शर्माले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई एक लाख तथा अन्य १० बवस्थापित परिवारलाई १० हजारका दरले राहत समेत वितरण गरे ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सरकारले पठाएको पैसा जिल्लामा आइसकेकाले पीडितले निवेदन दिनासाथ रकम प्रदान गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘बाढीपहिरोबाट पीडित भएको २६ घरलाई २५ हजार रुपैयाँ प्रदान गर्छौ ।’

खिम्तीका ६० घरपरवारलाई स्थान्तरण गर्नुपर्ने अवस्था रहेको बताउदै प्रजिअ खत्रीले स्थानीय तहसँग समन्वय गरेर केही समयभित्र नै बस्ती राख्ने स्थानको टुंगो लाग्ने बताए । गत असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको थियो भने तीन जना अझै वेपत्ता छन् । बाढीबाट १२ घर पुर्ण रुपमा बगेका थिए भने ६० घर बस्न नहुने गरी पुर्णरुपमा क्षतिग्रस्त बनेको छ । सरकारले अब बाढीपहिरोको कारण विस्थापि परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ ।

गृहमन्त्री शर्मासँग तीन बुँदे माग
गहृमन्त्री शर्मासँग रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तीन बुँदे माग राखेका छन् । उनले खानेपानी, सडक र सिचाइँको तत्काल व्यवस्था गर्न माग गरेका हुन् ।

खानेपानी, सडक र सिचाईको व्यवस्था गर्नको लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले सरकारले ध्यान दिनुपर्ने प्रजिअ खत्रीले मन्त्री शर्मालाई जानकारी गराए । जवाफमा गृहमन्त्री शर्माले सडक निर्माण, सिचाई र खानेपानीको लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर बजेट उपलब्ध गराउन पहल गर्ने बताए ।
बाढीपहिरोको कारण जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकासँगको यातायात सम्पर्क विच्छेद भएको छ । अहिले उमाकुण्ड र गोकुलगंगा गाउँपालिका अध्यक्षहरुको सक्रियतमा बाढीपहिरोका कारण बगाएको सडक निर्माण गर्ने काम धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्