रामेछापमा प्राविधिकले सकिदैन भनेको काम गाउँपालिकाका अध्यक्षद्धयले गरेर देखाइदिएपछि……



२२ साउन, रामेछाप ।
कुनै पनि काममा ढिलासुस्ती गर्ने सरकारी कर्मचारीको परम्परा नै हो । सजिलै हुने कामको लागि पनि सरकारी कर्मचारीहरु अनेक बहाना बनाउछन् । झन कमिसन नआउने काम त सरकारी कर्मचारी हात हाल्न नै मन गर्दैनन् । विकास निर्माणको काममा अनेक बहाना बनाउने गर्छन । जनताको दैनिक आवश्यकतासँग जोडिएको विकास निर्माणको काममा समेत सरकारी कर्मचारीहरु काम भन्दा बढी गफ गरेर झारा टार्न खोज्छन ।


गत असार ३१ गते मध्य रातमा रामेछापको छत्विने खोलामा आएको बाढीपहिरोको कारण लिखु–गोकुलगंगा गाउँपालिका जोडने सडक पूर्ण रुपमा अवरुद्ध भयो । सडक अबरुद्ध भएपनि रामेछापका उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका झण्डै साठी हजार जनतामा पिरलो थपियो ।

अब सडक कहिले बन्ला ? जनताले बाढीपहिरोबाट भत्किएको सडक तत्काल निर्माण गरेर यातायात सञ्चालन गर्न गाउँपालिकाका अध्यक्षहरुलाई दबाब दिए । बाढीपहिरो गएकै दिनबाट गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्कबहादुर सुनुवार र उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारलाई चिन्ताले सतायो ।


अध्यक्षद्धयले नै सुरुमा सडक डिभिजन कार्यालय खुर्कोटसँग अवरुद्ध सडक खुलाउन आग्रह गरे । तर डिभिजन कार्यालयका प्राविधिकले कुनै पनि हालतमा खोलाको किनारबाट अस्थायी सडक निर्माण गरेर यातायात सञ्चालन गर्न नसक्ने बताएपछि अध्यक्षद्धय नै सडक सुचारु गर्न कम्मर कसे ।
आँट गर्ने हो भने असम्भव पनि सम्भव हुन्छ भन्ने मान्यता राख्दै उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले रामेछाप न्युजसँग भने,‘प्राविधिहरुले हुँदैन भनेको काम हामीले गरेर देखाइदियो, आजबाट साना गाडी सञ्चालनमा आएको छ, भोलीबाट ठूलो बस नै सञ्चालन हुन्छ ।’


प्राविधिकहरुले बारम्बार सकिदैन भएपनि काम थालेकै सात दिनभित्र नै सडक अस्थायी रुपमा सञ्चालनमा आएको उनले बताए । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार र गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्क सुनुवारको सक्रियतामा सडक सञ्चालन गर्ने काम सम्पन्न भएको छ । जुन कामबाट हजारौ जनता खुसी भएका छन् ।
उमाकुण्ड गाउँपालिका अध्यक्ष सुनुवारका अनुसार सडक सञ्चालनमा आएपछि रामेछापका दुई गाउँपालिका साथै दोलखा, ओखलढुङगा र सोलुखुम्बुका हजारौ जनतालाई सुविधा पुग्ने छ ।

 

सडक डिभिजन कार्यालय खुर्कोटले वेवास्था गरेपछि उमाकुण्ड र गोकुलगंगा गाउँपालिका अध्यक्षद्धयले गाउँपालिकाबाट १५/१५ लाख रुपैयाँ विनियोजन गरी सडक निर्माणको काम थालेका थिए । अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार सात दिन तीन वटा स्काइभेटर सञ्चालन गर्दा करिब १५ लाख रुपैयाँ खर्च भएको छ । उनले रामेछाप न्युजसँग भने,‘सडक डिभिजन कार्यालयका प्राविधिक नमानेपछि हामीले गाउँपालिकाकै प्राविधिकको सहयोग लिएर सडक सञ्चालन गर्न सफल भएका छौं ।’
उनले आफ्नो वीस बर्षदेखिको अनुभवकै कारण अवरुद्ध सडक सञ्चालन गर्न सफल भएको बताए । अध्यक्ष सुनुवारले भने,‘कुरा मात्र होइन कामबाट प्राविधिहरुले पनि सिक्नु पर्छ ।’

तत्काल अस्थायी रुपमा सडक सञ्चालन गरेपनि दिर्घकालीन रुपमा सडकको विकल्प खोज्नु पर्ने निष्कर्ष गाउँपालिकाले निकालेको छ । छतिवने खोलामा आएको बाढी पहिरोको कारण पुल र सडकमा मात्र ६ करोड पाँच लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्