रामेछापमा अब नागरिकता लिन सजिलो हुने
२४ साउन, रामेछाप ।
रामेछापका ८ स्थानीय तहका जनतालाई नागरिकता लिन सहज हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका कर्मचारीको अभावमा बन्द भएको लाप्चानको इकाला प्रशासन कार्यालय सञ्चालनमा ल्याएको छ ।
लाप्चानेबाट उमाकुण्ड र गोकुलगंगा गाउँपालिका जनतालाई सुविधा लिन सहज भएको छ । मन्थली र रामेछाप नगरपालिकाका र खाँडादेवी गाउँपालिका जनतालाई सदरमुकाम मन्थलीबाट नै सुविधा लिन सहज भएको छ ।
सदरमुकामबाट टाढा रहेको सुनापति र दोरम्बा गाउँपालिकामा भने नागरिकताको वितरणको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम जारी राखेको अवस्थालाई मध्येजनर गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नागरिकता वितरणको सुविधा गाउँघरमा नै प्रदान गर्नको लागि घुम्ती शिविर सञ्चालन गर्न लागेको बताए ।
उनका अनुसार दोरम्बा गाउँपालिकामा साउन २८ र सुनापति गाउँपालिकामा साउन ३० गतेको लागि घुम्ती शिविर राखिएको छ । प्रजिअ खत्रीले भने,‘घुम्ती शिविर विदाको दिन पारिएको छ, अन्य दिन कार्यालयको कामलाई बाँधा नपरोस भनेर सार्वजनिक विदाको दिन राखिएको छ । साउन २८ गते शनिवार र साउन ३० गते कृष्णअष्टमीको विदा रहेको छ ।
दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाको केन्द्र टोकरपुरमाा एक दिन नागरिकता बनाउने कार्यक्रम रहेका नागरिकता बन्नबाट छुटेकाहरुलाई आउन आग्रह गरेका छन् । अध्यक्ष मोक्तानले भने,‘सात वटै वडाका अध्यक्षहरु र राजनीतिक दलका प्रतिनिधिहरुलाई उमेर पुगेकाहरुलाई नागरिकता बनाउन सहयोग गरिदिन आग्रह गरिसकेका छौं ।’ उनले गाउँघरमा नै आउने सुविधा उपभोग गर्न पनि गाउँपालिकाका जनतालाई आग्रह गरेका छन् । दोरम्बा गाउँपालिकाको केन्द्र कोटरपुरमा साउन २८ गते नागरिकता वितरण गर्ने कार्यक्रम रहेको छ ।
सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले पनि नागरिकता वितरण गर्ने टोली गाउँपालिकाको केन्द्र हिलेदेवीमा आउने भएकाले नागरिकता बनाउन उमेर पुगेकाहरुले सुविधा लिन आग्रह गरेका छन् । सुनापति गाउँपालिकामा साउन ३० गते नागरिकता वितरण गर्ने कार्यक्रम रहेको छ ।