दोरम्बा गाउँपालिकामा १ सय ९९ जनालाई नागरिकता वितरण



२८ साउन, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकामा सञ्चालित घुम्ती नागरिकता टोलीले १ सय ९९ जनालाई नागरिकता वितरण गरेको छ । मतदाता नामावलीमा उमेर पुगेका व्यक्तिहरुलाई गाउँघरमा नै सहज रुपमा सुविधा पुर्याउने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापले घुम्ती नागरिकता टोली मार्फत नागरिकता वितरण गरेको हो ।

दोरम्बा गाउँपालिका केन्द्र टोकरपुरबाट गाउँपालिका सात वटा वडाका नागरिकहरुले सुविधा लिएका छन् । दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले घुम्ती नागरिकता टोलीले शनिवार १ सय ९९ जनालाई नागरिकता वितरण गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘बर्षाको कारण समयमा नै सबै आउन सक्नुभएको छैन, आइतवार पनि नागरिकता वितरण गर्ने कार्यक्रम रहेको छ ।’
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनतालाई गाउँघरमा नै सुविधा दिने उदेश्यले घुम्ती टोली मार्फत नागरिकता वितरण गरिएको बताए । उनले भने,‘गाउँबाट सदरमुकाम जान टाढा छ, हाम्रो काम जनतालाई घरदैलोमा नै सुविधा दिने हो ।’ जनताको माग अनुसार आगामी दिनमा पनि गाउँपालिकाहरुमा नागरिकता टोली मार्फत नागरिकता वितरण गर्ने प्रजिअ खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्