रामेछापको सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाट नागरिकता वितरण हुने



२९ साउन, रामेछाप ।
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवी साँदीडाँडाबाट गाउँपालिका जनतालाई नागरिकता वितरण हुने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले साउन ३० गते अर्थात भोली एक दिने घुम्ती सेवा अन्गर्त नागरिकता वितरण गर्न लागेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भोली बिहान ७ बजेबाट नै नागरिकता वितरण कार्य सुरु गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँघरमा नै जनतालाई सेवा दिने उदेश्यले एक दिन घुम्ती नागरिकता टोली मार्फत नागरिकता वितरण गछौं ।’

घुम्ती नागरिकता टोलीले सुनापति गाउँपालिकाका पाँच वटा वडाका जनतालाई नागरिकता वितरण गर्ने छ । मतदाता नामावली संकलनको कार्य भइरहेको र उमेर पुगेका व्यक्तिहरुलाई नागरिकता प्रदान गर्दा मतदाता नामावलीमा पनि नाम दर्ता हुने उदेश्यले जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण कार्य सञ्चालन गरेको हो ।
सुनापति गाउँपालिकामा नयाँ जनप्रतिनिधिहरु आएसँगै जनताले थप सुविधा पाउने अपेक्षा गरेका छन् । गाउँपालिकाका अनुसार एक दिन घुम्ती नागरिकता टोलीबाट करिब पाँच सय जनाले सेवा लिने अनुमान गरेको छ । गाउँपालिकाले अब प्रत्येक तीन महिनाको अवधिमा गाउँपालिकाको केन्द्रबाट नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालयसँग आग्रह गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्