संविधान संशोधन विधेयक फेल



५ भदौ, काठमाडौं ।
राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्न सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक फेल भएको छ । प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भएको हो ।

तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक ‘पास फेल जे भएपनि चुनावमा सहभागी हुन राजपा सहमत भएसँगै अघि बढाइएको थियो ।

केही दिनको दफावार छलफलपछि संशोधन विधेयक सोमबार निर्णयार्थ पेश भएपनि आवश्यक दुई तिहाई बहुमत नपुग्दा फेल भएको छ । सोमवार भएको मतदानको समयमा संसदमा ५५३ सांसद उपस्थित थिए । उनीहरु मध्ये ३४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका छन् भने विपक्षमा २०६ मत खसेको छ ।

मतदान सुरु हुनु अघि नै ५ सांसद भएको मालेले भने प्रक्रियामा भाग नलिने भन्दै बैठक बहिस्कार गरेको थियो ।संसदमा हाल ५९२ सांसद छन्, जसको दुई तिहाई ३९५ हुन्छ । तर, सोमबारको मतदानमा संशोधनको पक्षमा ३४७ मत मात्र खसेपछि सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरिन् ।

प्रतिक्रिया दिनुहोस्