अध्याँरो रामेछापलाई उज्यालो बनाउछुः गृह राज्यमन्त्री श्रेष्ठ



१० भदौ, रामेछाप ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले अध्याँरो रामेछापलाई उज्यालो बनाउने बताएका छन् । रामेछापमा विद्युतीकरण हुन बाँकी रहेका क्षेत्रमा विद्युतीकरणको लागि ठेक्का भइसकाले केही समयभित्र नै रामेछाप अब उज्यालो हुने बताएका हुन् ।

उनले रामेछापको विद्युतीकरण हुन बाँकी क्षेत्रमा विद्युतीकरण गर्नको लागि १ अर्ब २० करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेकाले जिल्लावासीले अब अध्याँरोमा बस्नु पर्ने बाँध्यता हटने बताए ।
मन्थली नगरपालिका–४ सालुको वडा कार्यालयको उदघाटन गर्दै गृहराज्य मन्त्री श्रेष्ठले संविधान अनुसार जनताको हक अधिकार स्थायीय तहमा नै ग्यारेन्टी गरिएको बताए । सरकारले जनतालाई प्रदान गर्ने सेवा सुविधालाई प्राथमिकतामा राखेको बताउदै उनले जनतालाई सहज ढंगले सेवा सुविधा प्रदान गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।
संविधानसभाबाट जारी भएको संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउदै अब देशको समृद्धिको सुरुवात स्थानीय तहबाट हुने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सिंहदरवार केन्द्रीत अधिकार गाउँगाउँमा ल्याउन विगतमा ठूलठूला आन्दोलन भएको स्मरण गर्दै गृह राज्यमन्त्री श्रेष्ठले संविधानसभाबाट जारी भएको संविधान मार्फत गाउँगाउँमा सिंहदरवार बनाउन सफल भएको बताए । स्थानीय तहको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर संविधानलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
उनले रामेछापवासीले सांसददेखि मन्त्रीसम्म बनाउन भूमिका खेलेको भन्दै जिल्लाको विकास निर्माणको काममा प्रतिबद्ध भएर नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।

रामेछापमा हाल सञ्चालनमाा रहेको मुख्य सडकहरुलाई कालोपत्रे गर्ने, भौतिक पूर्वाधार निर्माण गर्ने, खानेपानीको समस्यालाई समाधान गर्ने लगायतको कामलाई आफूले प्राथमिकतमा राखेर काम गर्ने बताउदै गृह राज्यमन्त्री श्रेष्ठले भने,‘गृह राज्यमन्त्रीको हैसितमा जिल्लाको विकासको नेतृत्व गर्न चाहन्छु, रामेछापवासीको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्