रामेछापमा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्यो



१५ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा पछिल्लो समयमा करेन्ट लागेर मृत्यु हुनेको सख्या बढेको छ । दुई साताको बीचमा रामेछापको दोरम्बा, सुनापति गाउँपालिका र मन्थली नगरपालिकामा गरी तीन जनाले ज्यान गुमाएका छन् । विद्युत उपभोग गर्नको लागि पर्याप्त ज्ञानको अभावमा करेन्ट लाग्ने घटना बढेको विद्युत प्राधिकरण रामेछापले बताएको छ ।
मन्थली नगरपालिकामा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । मन्थली नगरपालिका–१ हाटेचौरमा विद्युतिय मोटर प्रयोग गरि तामाकोसी नदीबाट पानी तान्ने क्रममा करेन्ट लागेर ५७ बर्षिय मैना तामाङको बिहिबार मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप लामेछानेले रामेछाप न्युजलाई बताए ।
धान खेतमा पानी लगाउन मोटरमा विद्युतलाइन जोडने क्रममा तामाकोसी नदीमा राखिएको मोटर छुँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार तामाङको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
केही दिन अघि सुनापति गाउँपालिका–५ खनियापानीकी सावित्रा रोक्का पनि करेन्ट लागेर मृत्यु भएको थियो । एक सता अघि दोरम्बा गाउँपालिकाका पनि एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको थियो । एक बर्षको अवधिमा रामेछापका विभिन्न स्थानमा गरी सात जना भन्दा बढीको करेन्ट लागेर मृत्यु भएको छ ।
रामेछापका प्रजिअ लामेछानेले विद्युत उपभोग गर्दा नागरिकहरु सचेत रहनु पर्ने बताए । उनले भने,‘करेन्ट लागेर नागरिकको ज्यान जानु दुःखद कुरा हो, आगामी दिनमा नियन्त्रण गर्न विद्युत प्राधिकरण र नागरिक सचेत हुनुपर्छ, यसको लागि सबै सजग बन्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्