उर्जा क्षेत्रको विकासले नै रामेछापलाई समृद्ध बनाउछःगृह राज्यमन्त्री श्रेष्ठ



१७ भदौ, रामेछाप ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछापको विकासको आधार उर्जा क्षेत्र रहेको बताए । उनले रामेछापमा उर्जा क्षेत्रमा ठूलो सम्भावना रहेकाले एक हजार मेगावाटको अपर खिम्ती र सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्न सके रामेछाप समृद्ध हुने बताएका हुन् ।


रामेछापभित्र सुनकोसी, तामाकोसी खिम्ती लिखु, चौरीखोला लगायतका नदी र खोलाबाट उत्पादन हुने उर्जाको विकास गर्न सके रामेछापको आर्थिक समृद्धिको आधार बन्छ, उनले भने ।

गृहराज्यमन्त्री श्रेष्ठले भने,‘अब रामेछापवासीको साना–साना पुँजीलाई एकीकृत गरेर योजनाबद्ध रुपमा उर्जा क्षेत्रमा लगानी गर्नुपर्छ, आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनु पर्छ ।’


शनिवार रामेछापको गेलुमा निर्मानाधिन शारदा माविको नवनिर्मित भवनको उदघाटन गर्दै मन्त्री श्रेष्ठले एक बर्षभित्र अब अध्याँरो रामेछापलाई उज्यालो बनाउने अभियान सुरु भइसकेको बताए । रामेछापको समग्र जनताको आर्थिक सुधारको लागि ठोस कार्यक्रम ल्याउने बताउदै उनले जलविद्युत आयोजना मार्फत आर्थिक सुधारको बाटोमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले अब सरकारले राष्ट्रिय परिचय पत्र वितरण कार्य अगाडि बढाउने बताए । उनले एउटा जिल्लाबाट राष्ट्रिय परिचय पत्र वितरणको कार्य अगाडि बढाउनको लाग गृह मन्त्रालयले काम गरिरहेको बताउदै क्रमश सबै जिल्लाहरुमा परिचयपत्र वितरण कार्यलाई अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्