रामेछापमा बन्ने भो ५३६ मेगावाटको सुनकोसी तेस्रो जलवद्युत आयोजना !



२१ भदौ, काठमाडौं ।
रामेछापमा सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माणको काम अगाडि बढ्ने भएको छ । ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढने भएको हो ।

विद्युत् विकास विभागले ५३६ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको आउँदो पुस महिनादेखि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउने भएको छ ।
रामेछाप र काभ्रेको सीमाना दोभनटारमा आयोजनास्थल पर्छ । बाँध बाधन स्थलमा दुवै तिर पहरो भएको कारणले उक्त स्थान छनोट गरिएको बताइएको छ । सुनकोसी तेस्रो जलविद्युत आयोजनाको काम एक बर्ष अघिबाट नै सभाव्यता अध्ययन सुरु गर्ने भनिए पनि पुसबाट भने सुरु हुने भएको छ ।

जलविद्युत आयोजनको सभाव्यता अध्ययनका लागि टेन्डर आह्वान गरेको छ । विभागका अनुसार एक दर्जन भन्दा बढी परामर्शदाता कम्पनीले आशयपत्र दिएका छन् । विद्युत विकास विभागका सूचना अधिकारी बाबुराजा अधिकारीले आशयपत्र दिइएका परामर्शदाता कम्पनीबाट प्रस्ताव मागेर परामर्शदाता छनोट गरी तत्काल नै प्रक्रिया अगाडि बढाउने बताए ।

सकेसम्म हामी छिट्टै नै अध्ययन प्रक्रिया अगाडि बढाउने तयारीमा छौ, उनले भने । रामेछापवासीले भने आयोजनाको अध्ययन गर्न ढिलाई भएकोप्रति असन्तुष्टि जनाएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गाउँमा निर्माण हुने सुनकोसी तेस्रो जलविद्युत आयोजनालाई निकै महत्वको साथ हेरिएको छ । प्राधिकरणको प्रमुख नै जन्मिएकै ठाउँमा जलविद्युत आयोजना बन्ने चर्चा चलेसँगै रामेछापवासीले घिसिङसँग पनि ठूलो अपेक्षा गरेका छन् ।

राजधानी काठमाडौं करिब ९० किलोमिटर दुरीमा पर्ने आयोजनामा स्थलमा मध्य पहाडी लोकमार्गले समेत छोएको छ । आयोजनास्थलसम्म हाल सडक पुगि सेको छ । सुनकोशी जति छिटो आयोजना बनाउन सक्यो, त्यति नै नेपालमा लोडसेडिङ अन्त्यका लागि सहयोग पुग्ने र काठमाडौंको लोड थेग्न सहयोग पुग्ने अपेक्षा नेपाल विद्युत प्राधिकरणले गरेको छ ।
सुनकोसी तेस्रो आयोजना अगाडि बढाएको लागि रामेछाप क्षेत्र नम्बर २ का सांसद समेत रहेका गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पनि आयोजनालाई तत्काल अगाडि बढाउन भूमिका खेल्ने बताएका छन् । उनले आयोजना निर्माण गर्न सकेमा नेपालकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न सकिने सम्भावना रहेको रामेछाप न्युजलाई बताए ।


प्राधिकारणका कार्यकारी निर्देशक घिसिङले एक महिना अघि राजधानीमा आयोजित एक कार्यक्रममा सुनकोसी तेस्रो जलविद्युत आयोजनाको बारेमा जाइकाले तयार पारेको रिपोर्ट सार्वजनिक गरेका थिए । घिसिङले आयोजना निर्माण भएसँगै ¥याफ्टिङ, फिसिङ, सुन्दर होटल निर्माणलगायत गरेर तिमाल, कोशीपारी र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताएका थिए ।
घिसिङका अनुसार सन् १९८३ मै पूर्व सम्भाव्यता अध्ययन भइसकेको आयोजनाको क्षमता ५३६ मेगाबाटबाट १५ सय मेगावाटसम्म पु¥याउन सकिनेछ । आयोजना निर्माणको क्रममा दोलालघाट क्षेत्रसम्मका करिब एक हजार घर डुबानमा पर्ने अनुमान प्राधिकरणले गरेको छ । प्राधिकरणका प्रमुख घिसिङले रामेछाप न्युजसँग भने,‘सुनकोसी तेस्रो जलविद्युत आयोजना सम्पन्न गर्नुपर्छ, किनकी यो देशको मुहार फेर्न आयोजना हो, आयोजना अगाडि बढाउन म सक्दो भूमिका निर्वाह गर्छु ।’
अध्ययनको क्रममा ६२ करोड २० लाख डलर लागत लाग्ने अनुमान गरिए पनि अहिले करिब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माण भएमा काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र रामेछाप जिल्लालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
नेपाल विद्युत प्राधिकरणकोसहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले सार्वजनिक गरेको १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सुनकोशी तेस्रो एक रहेको तथ्याङक रहेको छ । विद्युत् बढी खपत हुने राजधानी र तराईको बीचमा बन्ने र काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको सुनकोशीलाई आकर्षक आयोजनाको रूपमा लिइएको प्राधिकरणका प्रमुख घिसिङले बताए ।

सुनकोसी तेस्रो जलाशययुक्त आयोजना निर्माण कार्य अगाडि बढेको अवस्थामा रामेछापवासीको मात्र नभई देशलाई नै ठूलो फाइदा हुनेछ । रामेछापवासीले यो आयोजनालाई निकै महत्वको साथ हेरेका छन् । आयोजना समयमा नै सम्पन्न गर्नको लागि दबाब समुह नै बनाएर अभियान अगाडि बढाउने तयारी रामेछापवासीले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्