सुनापति गाउँपालिकाको ५ सय रोपनी क्षेत्रमा चिया बगान बन्ने



२३ भदौ, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिको सुनापति डाँडादेखि गाल्वासम्मको क्षेत्रमा चिया बगान बन्ने भएको छ । गाउँपालिकाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको गरेको अध्ययनले चिया लगाउन उपयुक्त भएको सिफारिस गरेको हो ।
दुई साता अघि चिया तथा कफी विकास बोर्डका प्राविधिहरुले गाउँपालिको वडा नम्बर ३ को डोग्मा लगायतको स्थानमा माटो परीक्षण गरेका थिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि विकास अधिकृत गौरव लुइँटेलले सुनापति गाउँपालिकामा चिया खेतीको लागि उपयुक्त भएको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘चिया खेतीको लागिसुनापति गाउँपालिको सुनापति डाँडा क्षेत्रमा उपयुक्त भएको रिपोर्ट आएको छ ।’ उनका अनुसार गाउँपालिको बेथान, डहु, रुपाकोट लगायतको क्षेत्रमा कफी खेतीको लागि माटो परीक्षणको काम भइरहेको र रिपोर्ट आउने क्रममा रहेको छ ।
५ रोपनी क्षेत्रमा चियाखेती
गाउँपालिकाले ५ सय रोपनी क्षेत्रफलमा चिया रोप्ने योजना बनाएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा डोग्मा वडा नम्बर २ दिमीपोखरीको माथिल्लो क्षेत्रमा सुरुको चरणमा चिया लगाउने भएको छ । सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा अध्य अध्यक्ष बाबुराम तामाङले चिया खेतीको लागि गाउँपालिकाले नै काम अगाडि बढाउने बताए । उनले चिया खेतीको लागि बजेट विनियोजन गरेर नै काम अगाडि बढाउने बताए ।


सुनापति गाउँपालिकामा चिया खेती सञ्चालन हुने भएपछि स्थानीयबासी उत्साहित भएका छन् । सुनापति गाउँपालिका–३ हिलेदेवीका स्थानीय रोज थिङले चिया खेती सञ्चालन गर्दा युवाहरुलाई जोड दिनु पर्ने बताए । चिया खेतीले गाउँपालिको मुहार फर्ने भएकाले विदेशमा रहेको युवाहरुलाई समेत स्वदेश फर्काउन चिया खेती उपयोगी हुनेमा जोए ।
गाउँपालिका र स्थानीयको लगानीमा चिया खेतीः अध्यक्ष लामा
गाउँपालिकाभित्र सञ्चालन हुने चिया खेतीको लागि स्थानीय जनता र गाउँपालिको लगानीमा चिया खेती सञ्चालन गरिने बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाभित्र सञ्चालन हुने चिया बगानलाई उद्योग र पर्यटन क्षेत्रको रुपमा विकास गर्ने सोच बनाएका छौ, यसै बर्षबाट चिया रोप्ने काम सुरु हुन्छ । यस बर्ष नै गाउँपालिकाले बजेट छुटयाएर काम अगाडि बढाउछौ, अध्यक्ष लामाले भने ।


स्थानीयलाई प्राथमिकता दिनुपर्छः तामाङ
सुनापति गाउँपालिकाका स्थानीय बिबी तामाङले चिया खेतीमा स्थानीय जनतालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । उनले स्थानीय जनताको सहभागीतामा नै चिया बगानको कार्यक्रम अगाडि बढाउदा प्रभावकारी र फलदायी हुनेमा जोड दिए । ‘प्रभावित क्षेत्र र सिंगो गाँउपालिकाका सबै जनतालाई शेयर दिएर योजना अगाडि बढाउनु पर्छ’, तामाङले भने,‘चिया खेतीको योजना अगाडि बढाए, सुनापति गाउँपालिको मुहार नै फेरिन्छ ।’
चिया उद्योग र पर्यटकीय गन्तव्य सुनापति
गाउँपालिकाले सुनापतिलाई पर्यटकीय गन्तव्य बनाउने गाउँपालिको नीति तथा कार्यक्रममा नै समावेश गरेको छ । करिब तीन हजार मिटर उचाईमा रहेको सुनापति डाँडा धार्मिक, ऐतिहासिक र सास्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । धार्मिक क्षेत्रको रुपमा सुनापति डाँडामा प्रसिद्ध रहेको छ । सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्टले सुनापतिलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भौतिक पूर्वाधार निर्माणको साथै प्रचार–प्रसारको काम समेत अगाडि बढाउने बताइन । उनले भने,‘ओझेलमा परेको सुनापतिलाई पर्यटकी क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाले प्रभावकारी रुपमा कार्यक्रम अगाडि बढाउछौं ।’ गाउँपालिकाले चिया बगानलाई उद्योगको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।


काठमाडौंबाट १ सय १० मिलोमिटर दुरीमा सुनापति
सुनापतिबाट राजधानी काठमाडौं १ सय १० किलोमिटर दुरीमा रहेको छ । सुनापति डाँडाबाट लुभु, नेपालथोक, धुलिखेल हुँदै काठमाडौं पुग्न सकिन्छ । गाडीबाट काठमाडौं हुँदै सुनापति आइपुग्न चार घण्टा लाग्छ । सुनापति डाँडाबाट सैलुङ्ग क्षेत्र, दोलखाको गौरीशकंर हिमाल र सुनकोसी नदी लगायतको क्षेत्रको सहज रुपमा अवलोकन गर्न सकिन्छ ।


फिल्म सुटिङस्थल बनाइने
सुनापतिमा चिया बगान निर्माणको कामसँगै फिल्म सुटिङ्गस्थल निर्माण गर्ने योजना अगाडि बढाइएको छ । गाउँपालिकाले सुनापति डाँडादेखि भाङगेडाँडाको क्षेत्रमा फिल्म सुडिङ्गस्थल बन्ने भएको हो । सुनापति डाँडादेखि गाल्वासम्मको क्षेत्र इलामको कन्याम क्षेत्रको रुपमा तुलना गर्ने गरिएको छ । अहिले पनि सुनापतिमा आन्तरिक एवं बाह्य पर्यटकहरु आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्