रामेछापको विकास गर्न प्रतिबद्ध भएर लागेको छुः गृह राज्यमन्त्री श्रेष्ठ



३१ भदौ,काठमाडौं ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् । उनले निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन सरकारले सम्पूर्ण गृहकार्य पूरा गरेको बताएका हुन् ।
तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउदै गृह राज्यमन्त्री श्रेष्ठले संविधान कार्यान्वयनको कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । उनले स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै सरकारले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि पनि काम थालि सकेको बताए । ‘तीन वटै तहको निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो’, गृह राज्यमन्त्री श्रेष्ठले भने,‘तीन तहकै निर्वाचन सम्पन्न भएपछि देश दिगो विकासमा अगाडि बढछ ।’
पटक–पटक सरकार परिवर्तन हुँदा देशले आर्थिक समृद्धि र दिगो विकासले गति लिन नसकेको बताउदै उनले समृद्धिको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुको विकल्प नभएको बताए । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ वटा प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरु आएपछि विकासले गति लिन सुरु गरेको बताउदै मन्त्री श्रेष्ठले विकास निर्माणमा सबै मिलेर अगाडि बढनु पर्नेमा जोड दिए ।


राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै रामेछापलाई सक्षम, समृद्ध र शान्त बनाउन राजनीतिक दलहरुले मात्र सम्भवन नहुने भएकाले सबै रामेछापवासी जुटनु पर्छ, उनले भने । ‘उज्यालो रामेछाप बनाउने अभियान सुरु भएको छ, विद्युतीकरणको लागि ठेक्का भएर सर्भेको काम भइरहेको छ’,मन्त्री श्रेष्ठले भने,‘कृषि, पर्यटन र जलविद्युतको क्षेत्र मार्फत रामेछापलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनु पर्छ ।’
रामेछाप सांस्कृति समाजले शनिवार राजधानीमा आयोजना गरेको दशैको शुभकामना तथा सष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गृह राज्यमन्त्री श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि विकास निर्माणको लहर चल्ने दावी गरे ।
रामेछापको विकास निर्माणमा बजेट विनियोजन भएपनि अपेक्षा अनुसार कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले स्थानीय राजनीतिक दलहरु मिलेर विकास निर्माणको कार्यलाई सामुहिक ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले सांसद हुँदा जसरी रामेछापको विकास निर्माणमा भूमिका निर्वाह गरे त्यो भन्दा शसक्त रुपमा जिल्लाको विकासको लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा रामेछाप क्षेत्र नम्बर १ का सांसद आङटावा शेर्पाले जिल्लाको विकासको लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए । उनले भने,‘रामेछापको विकासको लागि प्रतिबद्ध भएर लागेको छु, आगामी दिनमा पनि लाग्छु ।’
उक्त कार्यक्रममा रामेछापकी सांसद कमला सुवेदीले रामेछाप जिल्लाको विकास निर्माणको कार्यमा सबै एकताबद्ध भएर अगाडि बढनु पर्नेमा जोड दिइन । उनले समृद्ध रामेछाप बनाउनको लागि राजीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठनु पर्ने बताइन । त्यसैगरी कार्यक्रममा पूर्व सदभासद लक्ष्मी गुरुङले संविधान कार्यान्वयनको कार्यसँगै अब आर्थिक समृद्धिको गतिमा देशलाई अगाडि बढाउनु पर्ने बताइन ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकार बेदबहादुर कार्की, पत्रकार मातृका पौडेल, खेलाडी भावना सुनुवार,अभिनेत्री मिथिला शर्मा, लोक गायक नारायण रायमाझी, लोक गायक रेशम थापा, लोक गायिका सीता थापा, गायक रोज मोक्तान, कलाकार अमृत बहादुर सुनुवार र कायक राजेन्द्र बहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्