प्रदेश नम्बर २ मा ७२.०६ प्रतिशत मतदान



२ असोज, काठमाडौं ।
प्रदेश २ का १ सय ३६ वटै स्थानीय तहमा भएको निर्वाचनमा ७२.०६ प्रतिशत मतदान भएको छ । स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७२.०६ प्रतिशत मतदान भएको हो । तेस्रो चरणको स्थानीय चुनाव सकिएसंगै मुलुक संघीय संरचनामा बदलिएपछिको पहिलो स्थानीय चुनावले पूर्णता पाएको छ । अब मुलुकभरका सबै स्थानीय तहमा जनप्रतिनिधि हुनेछन् ।

आयोगका अनुसार सबभन्दा बढी रौतहट र बारामा ७५ प्रतिशत मत खसेको छ । त्यस्तै सिरहामा ७३, सर्लाही र पर्सामा ७२ तथा सप्तरी, धनुषा र महोत्तरीमा ७० प्रतिशत मत खसेको छ । कुल २६ लाख ६४ हजार ५ सय ९० मतदाता रहेकोमा सोमबारको निर्वाचनमा १९ लाख २० हजार ३ सय ७२ जनाले मतदान गरेको आयोगले बताएको छ ।

प्रदेश दुईको चुनावमा उम्मेवारी दर्तादेखि मतदानसम्मै कुनै ठूलो अप्रिय घटना भएन । ‘स्थानीय तहको निर्वाचन लगत्तै आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन गर्ने कार्यक्रम प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्