निर्वाचन सफल बनाउन भूमिका खेल्ने सबैलाई गृहराज्यमन्त्री श्रेष्ठले दिए धन्यवाद



२ असोज, काठमाडौं ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रदेश नम्बर २ मा सोमवार सम्पन्न १ सय ३६ स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छन् ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको पहिलो खुडकिला पार भएको बताउदै गृह राज्यमन्त्री श्रेष्ठले निर्वाचन मार्फत जनतामा नयाँ आशा र उत्साह थपिएको बताए । निर्वाचन सम्पन्न भएसँगै देशको दिगो विकास शान्ति र समृद्धिको गतिमा अगाडि बढने विश्वास उनले व्यक्त गरे ।

गृहराज्य मन्त्री श्रेष्ठले भने,‘गृह मन्त्रालयले अपनाएको सुरक्षा रणनीति अनुसार नै स्वच्छ र भयरहित ढंगले निर्वाचन सम्पन्न भएको छ, निर्वाचन सम्पन्न बनाउन भूमिका खेल्ने सबै धन्यवादको पात्र हुनुहुन्छ ।’ उनले सरकार आगामी मंसिर १० र २१ गते घोषणा गरेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेको बताए । स्थानीय तहको निर्वाचन सम्पन्न गराउनु सरकारको सफलता भएको बताउदै उनले आगामी दुई तहको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्