रामेछापमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसबाट यी हुन सम्भावित उम्मेदवार



४ असोज, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा को उम्मेदवार हुने भन्ने महालो रामेछाप जिल्लामा पनि तातिएको छ । निर्वाचनको मिति घोषणा भएलगत्तै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा टिकट कसले दिने भन्ने दौड रामेछाप कांग्रेसभित्र सुरु भएको छ । केन्द्रदेखि गाउँपालिकासम्म गुटमा विभाजित कांग्रेसभित्र टिकट लिने दौड सुरु भएको हो । रामेछापमा टिकट लिनको लागि एक दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् । रामेछापमा संस्थापन पक्ष, रामचन्द्र पौडेल पक्ष र कृष्ण सिटौला पक्षको प्रभाव रहेको छ । पछिल्लो समय जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्यहरु मनोनित गर्दा पार्टी सभापति लवश्री न्यौपानले एकलौटी गरेको भन्दै सचिव लेखबहादुर कार्की पक्षले असन्तुष्टि जनाउदै आएको छ ।
यी हुन प्रतिनिधिसभाको सम्भावित चार उम्मेदवार
विगतमा २ वटा निर्वाचन क्षेत्र भएपनि निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अनुसार प्रतिनिधिसभाको लागि एउटा मात्र निर्वाचन क्षेत्र तोकिएको छ । रामेछापमा हाल २ लाख भन्दा बढी जनसंख्या रहेको छ । २ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा पछिल्लो तथ्याङक अनुसार करिब १ लाख ४० हजार मतदाता रहेका छन् ।


रामेछापमा प्रतिनिधिसभाको निर्वाचनको लागि पूर्व सांसद समेत रहेका नेता लक्ष्मण घिमिरे, रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, रामेछाप १ नम्बर क्षेत्रबाट निर्वाचित सांसद आङटावा शेर्पा र नेता कान्छाराम तामाङ मध्ये एक जनाले टिकट लिने सम्भावना रहेको चर्चा कांग्रेसभित्र सुरु भएको छ । घिमिरे पार्टीका पूर्व केन्द्रीय सदस्य हुन । त्यसैगरी खड्का २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए । शेर्पाले संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । तामाङ भने गत संविधानसभा निर्वाचनमा समानुपातिकको सूचिमा रहेका थिए । चारै जना नेताले टिकट पाउनको लागि केन्द्रमा नेताहरुसँग लविङ सुरु गरिसकेका छन् ।
यी हुन प्रदेशसभाका सम्भावित ६ उम्मेदवार
रामेछापबाट तीन जना सांसदले प्रतिनिधित्व गर्ने भएका छन् । विगतमा २ वटा निर्वाचन क्षेत्र रहेको थियो । तर परिवर्तित संरचना अनुसार प्रदेशसभामा २ निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक निर्वाचन क्षेत्र कायम भएको छ ।

प्रदेशसभाको निर्वाचनमा टिकट लिनको लागि दौड सुरु भएको छ । प्रदेशसभाको लागि क्षेत्र नम्बर १ बाट पार्टी सभापति लवश्री न्यौपाने, पार्टी सचिव लेखबहादुर कार्की र नेविसंघका पूर्व उपाध्यक्ष रत्न कार्कीले आकांक्षा देखाएका छन् । तीनै जनाले टिकटका पाउनको लागि गाउँपालिकादेखि केन्द्रसम्म नै लविङ सुरु गरेका छन् । त्यसैगरी प्रदेशसभा निर्वाचनको लागि क्षेत्र नम्बर २ मा पनि नेताहरुको दौडधुप सुरु भएको छ । प्रदेशसभा निर्वाचनको लागि अर्जुन केसी, झनक श्रेष्ठ र धु्रव लामाले आकांक्षा देखाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्