घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन गृह राज्यमन्त्री श्रेष्ठको निर्देशन



६ असोज, काठमाडौं ।
गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ मा बस दुर्घटनामा   मृत्यु हुनेप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा अभाव हुन नदिन निर्देशन दिएका छन् । गृह राज्यमन्त्री श्रेष्ठले रामेछापका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई घाइतेहरुको उपचारमा कुनै पनि कमी हुन नदिन निर्देशन दिएका हुन् । उनले चाडपर्वको समयमा क्षमता भन्दा बढी यात्रु बोल्न नदिने र यात्रुहरुको सुरक्षामा ध्यान दिन पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
रामेछापको बाबियाखर्कमा बस दुर्घटनामा परी घाइते भएका १७ जनाको रामेछापको सदरमुकाम मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामेछानेले रामेछाप न्युजलाई बताए । उनले भने,‘घाइते भएकाहरु सबैको मन्थलीमा उपचार भइरहेको छ, १७ जना मध्ये ६ जनाको अवस्था अलि गम्भीर छ, डाक्टरको भनाई अनुसार जिल्लामा नै उपचार हुने भएकाले राजधानी काठमाडौं पठाउनु पर्ने आवश्यकता छैन् ।’

रामेछापको वावियाखर्क भन्ने ठाउँमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रामेछापको च्यास्कुबाट यात्रु लिएर काठमाडौं हिडेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस रामेछाप नगरपालिका वडा नम्बर ८ वावियाखर्क भन्ने ठाउँमा सडकबाट अन्दाजी करिब ३० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्