रामेछापमा बन्ने खिम्ती–२ जलविद्युत आयोजना निर्माण गर्न लगानी जुटयो, रामेछापवासीलाई दस प्रतिशत शेयर



८ असोज, काठमाडौं ।
रामेछापमा निर्माण हुन लागेको खिम्ती–२ जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ ।
पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८.८ मेगावाटको खिम्ती–२ आयोजना निर्माणका लागि लगानी जुटेको हो ।

राजधानीको होटल हिमालयमा आइतबार आयोजित कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ ।
कार्यक्रममा सम्झौताका प्रतिहरु पिपुल्स इनर्जी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद आचार्य र बैंकहरुको नेतृत्व गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) भुवन दाहालले साटासाट गरे ।
नदीको बहाव (रन अफ रिभर) मा आधारित आयोजनाको मुख्य निर्माणस्थल दोलखाको जिरी नगरपालिका र रामेछापको रसनालुमा रहेको छ ।

जलविद्युत आयोजना निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा सिद्धार्थ बैंक लिमिटेड, नबील बैंक लिमिटेड, जनता बैंक लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, बैंक अफ काठमाण्डु, सिभिल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र एनसीसी बैंक लिमिटेडले लगानी गर्ने भएका छन् ।
आयोजनाले तोकिएकै मितिमा आगामी २०७८ असार मसान्तसम्ममा बत्ती बालेर देखाउने प्रतिबद्धता जनाएको छ ।
आचार्यले आयोजना निर्माणका लागि टेण्डर प्रक्रियामार्फत ठेकेदार नियुक्ति भइसकेको बताए । उनका अनुसार आयोजनको हाइड्रोलिक अध्ययन, विस्तृत सर्वेक्षण, भौगर्भिक अध्ययन सम्पन्न हुनुका साथै आयोजनाका लागि आवश्यक जग्गा खरिद समेत भएको बताए ।
यस्तै आयोजनाको विद्युत गृहसम्म पुग्नो मोटर बाटो निर्माण अन्तिम चरणमा पुगेको र खिम्ति खोलामाथि पुल निर्माण कार्य जारी रहको आचार्यले बताए । आयोजनाको निर्माण आगामी २०७८ असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य निर्माण पक्षको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ८ अर्ब ६५ करोड रुपैयाँ छ ।
खिम्ती–२ जलविद्युत आयोजनमा रामेछापवासीले १० प्रतिशत शेयर पाउने निर्णय यस अघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्