सन् २०१९ को डिभी खुल्यो,यसरी भर्नुस डिभी



१६ असोज, काठमाडौं ।
अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि मंगलवार देखि आवेदन दर्ता गर्न सकिने बताएको छ ।  नेपाल स्थित अमेरिकी दूतावासले सोमवार विज्ञप्ति प्रकाशित गरी भोलि राती पौने दश बजेदेखि खुल्ने बताएको हो । कात्तिक २१ गतेसम्म डिभि भर्न सकिने दूतावासले जनाएको छ । डि भी आवेदन खुल्ला अक्टोबर ३ देखि नोभेम्बर ७ सम्म रहने छ ।

दूतावासले डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गरेको छ । इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी आवेदन निःशुल्क हुनेछ ।  कन्सल्टेन्टको आवश्यकता नपर्ने अमेरिकी दूतावासले बताएको छ ।

आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिदै दुतावासले आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न आग्रह गरेको छ । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि व्यक्ति स्वयम जिम्मेवार हुनुपर्ने प्रावधान छ ।

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी :

  • आवेदन नि:शुल्क :  डि.भी. चिट्ठामा सहभागी हुनका लागि शुल्क लाग्दैन ।
    • कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।
    • फारम अनलाइन भर्नुपर्ने : सन् २०1९ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
    • पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
    • एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
    • हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
    • आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
    • आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।
    • तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे १,२०1८ (२०७५ वैशाख १८) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।

तपाईँ डि.भी. विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा जानुहोस् ।

प्रतिक्रिया दिनुहोस्