माओवादी र एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति



१७ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ । सहमतिको औपचारिक घोषणाका लागि ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन हुँदैछ ।

पत्रकार सम्मेलनमै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच मंगलबार ललितपुरमा भएको वार्ताले चुनावी तालमेलसँगै पार्टी एकताको सहमतिले अन्तिम रुप दिएको छ । एमाले र माओवादीबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा चुनावी तालमेल गर्ने सहमति भएको छ । जसमा प्रत्यक्षतर्फ एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउनेछन् ।

चुनाव चिन्हबारे सहमति टुंगिन बाँकी छ । एउटै चुनाव चिन्हमा चुनाव लड्ने भनेपनि कानुनी अड्चन देखिएको बैठकमा सहभागी एक नेताले बताए ।

साथै चुनाव लगतै पार्टी एकता गर्ने सहमति भएको छ । यसका लागि पार्टी एकता संयोजन समितिको घोषणा आजै हुनेछ ।

यो समितिमा एमालेबाट अध्यक्ष ओलीका साथै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्षन बामदेव गौतम रहनेछन् भने माओवादी केन्द्रबाट प्रचण्डका साथै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहनेछन् ।

दुई दलबीच साझा विधान बनाउन मस्यौदा समिति बनाउने सहमति पनि जुटेको छ ।एकतापछि पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको एक नेताले बताए ।
चुनावी तालमेलसँगै पार्टी एकता गर्ने एमाले र माओवादीबीच सहमति भएपछि अहिलेको देउवा नेतृत्वको सरकार धरापमा परेको छ ।

पार्टी एकिकरण गर्ने गरी एमाले र माओवादी केन्द्रविच सात बुदे समझदारीको मस्यौदा

१ एमाले र माओवादी केन्द्रबीच कम्तीमा चुनावी गठबन्धन र बढीमा पार्टी एकता गरेर अघि बढ्ने, प्रतिनिधिसभा र प्रदेश सभामा वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिबीच चुनावी गठबन्धन बनाउने ।

२ गठबन्धन र एकतामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलगायतका दल र शक्तिलाई पनि सामेल गराउने, हृदयेश त्रिपाठीलाई पनि समेट्ने ।

३ निर्वाचनमा नयाँ शक्ति र फोरमलगायतका शक्तिलाई दिइनेबाहेक बाँकी सिटमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने ।

४ पार्टी एकताका लागि सर्वपक्षीय प्रतिनिधित्व हुने गरी १० सदस्यीय एकता संयोजन समिति बनाउने । समितिमा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेता वामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल, नयाँ शक्तिबाट डा बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र अशोक राईले प्रतिनिधित्व गर्ने ।

५ पार्टी एकता भएमा एमाले र माओवादी केन्द्रका अध्यक्षको हैसियत समान रहने, दुईमध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने ।

६ निर्वाचन आयोगले सहमति दिए एउटै चिह्नबाट दुवै दलले प्रत्यक्ष र समानुपातिकतर्फ चुनाव लड्ने, आ–आफ्ना चुनाव चिह्नबाट उम्मेदवारी दिएको अवस्थामा पनि निर्वाचनपछि पार्टी एकता गर्ने ।

७ निर्वाचनअघि नै सरकार परिवर्तनको पहल गर्ने, राष्ट्रिय सहमतिको आधारमा सर्वदलीय चुनावी सरकार गठन गर्ने विषयलाई प्रस्तावको रूपमा अघि बढाउने ।

प्रतिक्रिया दिनुहोस्