राजनीतिमा नयाँ तरङ्गःएउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति



१७ असोज, काठमाडौं ।
समाजवाद उन्मुख समाज निर्माण गर्नको लाग तीन कम्युनिष्ट पार्टीबीच एउटैकम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ । आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेलसँगै पार्टी एकता गर्ने विषयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालको बीचमा सहमति भएको हो ।

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल र निर्वाचनपछि पार्टी एकीकरण गर्नेलगायत छ बुँदे सहमतिपत्रमा तीन दलका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
तीन दलबीच निर्वाचनको मुखमा भएको वामपन्थी गठबन्धनले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ ।
तीनै दलका अध्यक्षहरु क्रमशः केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा बाबुराम भट्टराईलगायत नेता उपस्थित पत्रकारसम्मेलनमा घोषणा गरिएअनुसार एकता संयोजन समितिमा एमालेका अध्यक्ष ओली र केन्द्रका अध्यक्ष प्रचण्ड दुवै जना प्रमुख रहने, एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामेदव गौतम र महासचिव ईश्वर पोखरेल, केन्द्रबाट नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा तथा नयाँ शक्तिका संयोजक डा भट्टराई रहनु हुनेछ ।

चुनावी तालमेलको सहमतिअनुसार नयाँ शक्ति र अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरिनेछ । सकेसम्म एउटै निर्वाचन चिह्नमा लड्ने र प्राविधिक समस्या भएमा आफ्नो निर्वाचन चिह्नमा तालमेल गरेर निर्वाचनमा जाने सहमति यी दलहरुबीच भएको छ । निर्वाचनमा साझा घोषणापत्र बनाउन पनि तीन दलले समिति बनाउनेछ ।

एमालेका अध्यक्ष केपी ओलीले इतिहासको रचनामा नयाँ अध्ययन शुरु भएको भन्दै राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हितलाई माथि उठाउन लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर एउटै कम्युनिष्ट पार्टीको महाअभियानमा आफूहरु जुटेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निरन्तरतामा क्रमभङ्ग गर्दै एउटै कम्युनिष्ट पार्टी बन्ने दिशामा आफूहरु केन्द्रित भएको बताए । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय एकतालाई मजबुद बनाउँदै यो गठबन्धनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको संसदीय ढाँचामा अघि बढ्नुपर्ने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्