रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको टिकट माओवादी–एमालेले कसले पाउला ?



२२ असोज, रामेछाप ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने ६ बुँदे सहमति गरेसँगै रामेछापमा प्रतिनिसभा र प्रदेशसभामा कसले टिकट पाउने भन्ने दौड सुरु भएको छ । एमाले र माओवादीबीच ६०÷४० को भागवण्डा भए अनुसार निर्वाचन क्षेत्र बाँडफाँड गर्न कार्यदल बनेको छ । कार्यदलले निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरिरहेको छ ।


रामेछापमा २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र यस पटकबाट एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम गरिएको छ । केन्द्रमा वाम तालमेल भएसँगै रामेछाप जिल्लाबाट पनि एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि सम्भावित उम्मेदवार केन्द्रलाई सिफारिस गरिसकेको छ ।
एमालेबाट प्रतिनिधिसभा निर्वाचनको लागि रामेछापबाट देवशकंर पौडेल, कैलाश ढुङगेल,रत्न कडेल, धु्रवकुमार कार्की र भगवानसिंह लामा सिफारिस भएका छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि ३४ जनाको नाम सिफारिस गरेको छ ।
उम्मेदवारहरुको सिफारिस गरेपनि प्रदेशसभा र प्रतिनिधिसभामा केन्द्रमा कसरी भागवण्डा गर्ने हो भन्ने बसह र लविङ सुरु भएको छ । एमालेका नेताहरुले माओवादी केन्द्रलाई प्रतिनिधिसभाको उम्मेदवार दिए दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार बन्न पाउनु पर्ने माग अगाडि सारेको छ । दुई पार्टीबीच संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भएपछि जित्ने भएकाले आकांक्षीहरुको संख्या पनि बढेको छ ।
माओवादीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उठने उम्मेदवारको सूची असोज २४ गते मात्र केन्द्रमा पठाउने भएको छ । माओवादीको जिल्ला कमिटीको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको सूची केन्द्रमा सिफारिस गर्ने भएको छ । माओवादीले २०६४, ०७० र स्थानीय तहको निर्वाचनमा पनि राम्रो मत ल्याएको कारण प्रदेशसभा क्षेत्र नम्बर २ र प्रतिनिधिसभाको टिकट आफ्नो पार्टीले पाउनु पर्ने माग गरेको छ । माओवादीका एक नेताले भने,‘हाम्रो अडान प्रदेशसभा क्षेत्र नम्बर २ र प्रतिनिधिसभा निर्वाचनको टिकट पाउनु पर्छ भन्ने हो, केन्द्रले उचित निर्णय गर्ला, प्रदेशसभा निर्वाचन क्षेत्र एक एक वटा गर्दा राम्रो हुन्छ ।’
चुनावी तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेर निर्वाचनमा होमिन लागेका दुई दलबीच निर्वाचन क्षेत्र बाँडफाँडमा बहस उत्कर्षमा पुगेको छ । रामेछापमा एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेकाले भागवण्डा गर्न कठिन भएको छ । एक नेताका अनुसार दोलखामा एमालेले प्रतिनिधिसभा र एउटा प्रदेशसभा लिए रामेछापमा माओवादीले एउटा प्रदेशसभा र एउटा प्रतिनिधिसभा लिने सम्भावना बलियो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्