विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ६६ हजार संकलन



३१ असोज, काठमाडौं ।
विपद्मा परेका रामेछापवासीहरुलाई सहयोग गर्ने उदेश्यले हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले आयोजना गरेको देउसी भैलो कार्यक्रममा ५ लाख ६६ हजार रुपैयाँ आर्थिक संकलन भएको छ । काठमाडौंस्थित गौरीशकंर पार्टी प्यालेमा दिपावलीको अवसरमा मंगलवार आयोजित कार्यक्रममा रामेछापबाट काठमाडौंमा आएर विभिन्न पेशा व्यवसायमा आबद्ध रामेछापवासीहरुले कोष स्थापनार्थ आर्थिक सहयोग गरेका हुन् ।
हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले विपद्मा परेका रामेछापवासीहरुलाई सहयोग गर्ने उदेश्यले विपद् व्यवस्थापन कोष स्थापना गरेको हो । देउसी भैलो कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले कोष स्थापनार्थ ९९ हजार ९ सय ९९ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मानविय सेवाको उदेश्यको साथ स्थापना गर्न लागिएको कोष स्थापना गर्नु राम्रो विषय भएको उल्लेख गर्दै गाउँपालिका पाँच जना नै वडा अध्यक्षको सल्लाहमा गाउँपालिले कोषलाई सहयोग गर्ने निर्णय गरेको बताए ।


कोष स्थापना गर्नको लागि नेपाली कांग्रेस रामेछापका नेता एवं आगामी प्रतिनिधिसभा निर्वाचनको लागि रामेछापबाट सिफारिस भएका कान्छाराम तामाङले ६७ हजार रुपैयाँ, फाइभ फिङगर कन्ट्रक्सन प्रालिका अध्यक्ष बिबि तामाङले ५५ हजार पाँच सय, पली ओरर्सिज प्रालिका दिपक मोक्तानले ५५ हजार रुपैयाँ, सुनापति कन्ट्रक्सनका अध्यक्ष बबुरमान मोक्तानले ५५ हजार रुपैयाँ, रामेछाप प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ माओवादी केन्द्र्रबाट प्रत्यक्ष तर्फ सिफारिस भएका गणेश घिसिङले पचास हजार रुपैयाँ, हिलेदवी निवासी समाजसेवी आले लामाले ५० हजार ५ सय रुपैयाँ, समाजसेवी रामकृष्ण खत्रीले २५ हजार रुपैया,रामेछाप क्षेत्र नम्बर २ प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ सिफारिस एका टंकलाल घिसिङले २२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।
देउसी भैलो कार्यक्रममा विभिन्न संघ संस्था र व्यक्तिहरुले कोष स्थापना गर्नको लागि आर्थिक सहयोग प्रदान गरेका थिए ।
हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङले आगामी दिनमा विपदमा परेका रामेछापवासीहरुको अवस्था हेरेर आर्थिक सहयोग गर्ने बताए । उनले कोषमा आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरुले पनि सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष थिङले विगतमा कोष स्थापना नहुँदा पनि अस्पतालमा उपचार गर्न कठिनाई भएका व्यक्तिहरुलाई जनसम्पर्क मञ्चमा आबद्ध भएकाहरुसँग आर्थिक संकलन गरेर सहयोग गरेको स्मरण गरे । उनले आगामी दिनमा कोषलाई बृद्धि गरिदै लगिने पनि बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सभासद डिल्लीमान तामाङ, सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्ट चौलागाई, नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिका इन्चार्ज सुमन लामा माओवादी केन्द्र रामेछापका सचिवालय सदस्य टंकलाल घिसिङ ‘टलक’, नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायिक गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्षमा भुवनविक्रम घिमिरे,सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङ, सुनापति गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाई लगायतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्