प्रचण्डले हस्ताक्षर गर्ने बेलामा नयाँ सूचना आयोः मन्त्री श्रेष्ठ



३१ असोज,काठमाडौं ।
विना विभागीय राज्य मन्त्री श्याम कुमार श्रेष्ठले निर्वाचनको मिति सार्ने षडयन्त्रको सूचना आएपछि आफूहरु सरकारबाट नहटेको बताएका छन् । उनले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय लिनको लागि तयार भएको पत्रमा पार्टी अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्ने बेलामा निर्वाचनको मिति सार्ने खेल भएको सूचना आएकाले सरकारबाट नहटने निर्णय भएको बताएका हुन् ।
हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले मंगलवार राजधानीमा विपद् व्यवस्थापन राहत कोष स्थापनार्थ आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्वाचनको सुनिश्चितता गराउनको लागि पनि आफूहरु सरकारमा बसेको बताए ।

संसद नभएको अवस्थामा सरकारले एकलौटी निर्णय गर्ने भएकाले सरकारमा रहेर गलत क्रियाकलाको प्रतिवाद गर्न सकिन्छ भन्ने निष्कर्ष पार्टी हो’, उनले भने,‘निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउनु हाम्रो एक मात्र उदेश्य हो, तोकिएकै मितिमा निर्वाचन नभए अहिलेसम्म प्राप्त सबै उपलब्धि धरामा पर्न सक्छ ।’

तोकिएकै मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नहुने हो भने स्थानीय तहका जनप्रतिनिधिहरु पनि नरहने अवस्था आउने भएकाले सबै प्रकारका षडयन्त्रको पर्दाफास गरेर निर्वाचन सम्पन्न गराउनु पर्ने बताए । वामपन्थी गठबन्धको सरकारले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने त्रासको कारण केही शक्तिहरु आत्तिएको बताए । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनको लागि सरकार र सडकबाट सघर्ष गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

फरक प्रसंगमा उनले रामेछाप जिल्ला कम्युनिष्टहरुको लालकिल्लाको रुपमा पहिचान बनाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले रामेछाप जिल्लामा माओवादीको नेतृत्वमा विकास निर्माणको काम अगाडि बढेको बताए । उनले भने,‘रामेछापको विकासको नेतृत्व माओवादी पार्टीले गरेको छ, हाम्रो नेतृत्वमा उज्यालो रामेछाप अगाडि बढेको छ,पक्की पुल सडक निर्माणको कामले तिब्रता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्