रामेछापमा प्रतिनिधिसभा माओवादी र दुई वटा प्रदेशसभा एमालेले लिने सहमति !



१ कार्तिक, काठमाडौं ।
निर्वाचनमा तालेमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहमति जुटेको छ । सहमति अनुसार एउटा मात्र प्रतिनिधिसभा माओवादीले लिने र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र एमालेले लिने सहमति जुटेको हो ।

कार्यदलमा भएको सहमति अुनसार माओवादी केन्द्रले रामेछापबाट प्रतिनिधिसभाको उम्मेदवार पाउने भएको छ भने एमालेले भने रामेछापको प्रदेशसभाको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेछ ।


सुरुमा माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ पाउनु पर्ने अडान लिएको थियो । तर कार्यदलमा कि प्रतिनिधिसभा कि प्रदेशसभा रोज्न भनेपछि माओवादीले प्रतिनिधिसभा लिएर प्रदेशसभा छोडने सहमति जनाएको कार्यदलमा सहभागी एक नेताले रामेछाप न्युजलाई बताए ।
परिवर्तित संचरना अनुसार रामेछापमा एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । यस अघि दुई वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा हाल एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।
स्थानीय तहको निर्वाचनमा रामेछापको ८ वटा स्थानी तह मध्ये एमालेले पाँच, माओवादीले २ र नेपाली कांग्रेसले १ वटा स्थानीय तहमा विजयी हासिल गरको थिए ।

रामेछापमा ८ स्थानीय तहमा रहेको ६४ वटामा पनि वडा अध्यक्षमा एमालेले नै अग्रता लिएको थियो । जिल्ला निर्वाचन कार्यालय रामेछापको तथ्याङ अनुसार स्थानी तहको निर्वाचनमा एमालेले ३२ हजार, कांग्रेसले २७ हजार र माओवादी केन्द्रले २७ हजार मत प्राप्त गरेका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले रामेछाप क्षेत्र नम्बर २ बाट विजयी भएको थियो भने क्षेत्र नम्बर १ मा पनि थोरै मतअन्तरले माओवादी पराजित भएको थियो ।
कार्यदलमा दुई वटै प्रदेशसभा निर्वाचन क्षेत्र एमालेलाई छोडने मोटामोटी सहमति भएपनि शीर्ष तहमा टुङगिन बाँकी रहेको ती नेताले बताए । माओवादी केन्द्रले भने प्रतिनिधिसभा र २ नम्बर प्रदेशसभा निर्वाचन क्षेत्र पाउनु पर्ने माग राख्दै नेतृत्वलाई दबाब दिएको छ ।

शीर्ष तहमा नै सहमति जुटे मात्र माओवादी केन्द्रले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ पाउने सम्भावना रहेको माओवादीका एक नेताले रामेछाप न्युजलाई बताए ।
रामेछापबाट माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनको लागि पोलिटब्यूरो सदस्य युवराज चौलागाई, विना विभागीय राज्यमन्त्री समेत रहेका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ, पूर्व सभासद डिल्लीमान तामाङ सम्भावित उम्मेदवारमा सिफारिस गरेको छ । कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीभित्र आन्तरिक गृहकार्य भइरहेको छ ।

प्रदेशसभाको दुई वटै निर्वाचन क्षेत्र एमालेले पाएको खण्डमा रामेछाप क्षेत्र नम्बर १ प्रदेशसभाको लागि एमालेका जिल्ला अध्यक्ष समेत रहेका शान्ति पौडेलले पाउने सहमति एमालेभित्र जुटिसकेको छ ।

रामेछाप प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले पाएको अवस्थामा रत्न गौतम, होम बुढाथोकी र ज्ञानकुमार श्रेष्ठ मध्ये एकले टिकट पाउने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्