प्रतिनिधिसभामा रामेछापबाट कान्छारामले टिकट पाउने !



२ कार्तिक,काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचनको लागि रामेछापबाट पूर्णबहादुर तामाङ (कान्छाराम)ले टिकट पाउने सम्भावना रहेको बताइएको छ । तामाङले नै टिकट पाउने मोटामोटी सहमति भएको कांग्रेसको संसदीय वोर्डमा रहेका एक नेताले बताए । २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट उम्मेदवार बनेका तामाङ सभासद् हुनबाट बञ्चित भएका थिए ।
तामाङले टिकटको लागि कांग्रेसको शीर्ष नेतृत्वसँग वलिङ गर्दै आएका छन् । तामाङले कांग्रेसका नेता विमलेन्द्र निधिसँग राम्रो पहुँच राख्दै आएका छन् । कांग्रेसका एक नेताले अनुसार तामाङले निधि मार्फत टिकटको सुनिश्चितता गरेका हुन् ।


यस अघि नै आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले टिकट पाउने दावी तामाङले गर्दै आएका थिए । ठेक्का पट्टा मार्फत कांग्रेसको राजनीतिक सुरु गरेका तामाङले रामेछाप जिल्लामा विपद्मा पर्दा सहयोग गर्दैै आएका छन् ।
प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस रामेछापले नेता रामचन्द्र खड्का, निर्वमान सांसद आङटावा शेर्पा लगायतलाई प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको थियो । खड्काले २०७० सालमा रामेछाप क्षेत्र नम्बर २ बाट टिकट पाएर पराजित भएका थिए भने शेर्पाले रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । खड्काले नै यस पटक टिकट पाउने चर्चा चलेपनि तामाङले टिकट पाउने सम्भावना बलियो हुँदै गएकोप्रति रामेछाप कांग्रेसमा आन्तरिक विवाद सुरु भएको छ ।
रामेछाप कांग्रेसमा संस्थापन पक्ष, नेता रामचन्द्र पौडेल पक्ष र कृष्ण सिटौला पक्ष गरी तीन गुट सक्रिय रहदै आएको छ ।
प्रतिनिधिसभा उम्मेदवारको आकांक्षी कान्छाराम तामाङले आजसम्ममा रामेछापमा कसले टिकट पाउने भन्ने विषयमा टुंगो लाग्ने बताए । तपाईले नै टिकट लिने सम्भावना छ भन्ने चर्चा आएको छ नि भन्ने रामेछाप न्युजको जिज्ञासामा तामाङले भने,‘टिकटको लागि छलफल भइरहेको छ, हेरौ के हुन्छ ?’ तामाङ र शेर्पा संस्थापन पक्षका हुन् भने खड्का रामचन्द्र पौडेल पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्