भाइटीकाको उत्तम साइत ११ः५१ बजे



३ कार्तिक, काठमाडौं ।
यमपञ्चक अर्थात् तिहारको पाँचौंँ दिन आज भाइटीकाको साइत ११ः५१ बजेको लागि उत्तम मानिएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका नलगाउन अध्यक्ष गौतमले आग्रह गरेका छन् । शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा नरहेको उनको भनाई छ । दिदीबहिनी नहुनेका लागि आजैका काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्