रामेछापमा वाम गठबन्धनले तोक्यो चुनावी कमाण्डर



६ कार्तिक, रामेछाप ।
रामेछापमा संयुक्त उम्मेवारी दिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्लिित वामपन्थी गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ ।
दुवै पार्टीको संयुक्त बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन समितिको संयोजकमा नेकपा एमालेका जिल्ला इन्चार्ज देवशकंर पौडेललाई संयोजक बनाएको छ । सह संयोजकमा माओवादी केन्द्रका पूर्व सभासद डिल्लीमान तामाङ र सचिवमा माओवादीकै पूर्व सभासद नातारायण श्रेष्ठ रहेका छन् । रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार श्यामकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ को निर्वाचनको लागि प्रेम कुमार कार्कीलाई संयोजकको जिम्मेवारी दिएको छ । सह संयोजकमा एमालेका पुरुषोत्तम कडेरिया र सचिवमा दिपक कार्कीलाई जिम्मेवारी दिइएको छ । वामपन्थी गठबन्धनको तर्फबाट रामेछापको प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्रमा एमालेका पार्टी अध्यक्ष शान्ति प्रसाद पौडेलले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी दुई पार्टीको बैठकले रामेछाप क्षेत्र नम्बर २ को प्रदेशसभाको निर्वाचनको लागि माओवादी केन्द्रका टंकलाल घिसिङ टलकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । सह संयोजकमा एमालेका रामकृष्ण लामा र सचिवमा लव श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्