उम्मेदवारी कुनै पनि हालतमा फिर्ता लिन्नः मैन कुमार मोक्तान



७ कातिक, रामेछाप ।
रामेछापमा वापन्थी गठबन्धनको विरुद्ध बागी उम्मेदवार दिएका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका जिल्ला संयोजक मैनकुमार मोक्तानले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् । बागी उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएको छ नि भन्ने रामेछाप न्युजको प्रश्नमा उनले फिर्ता लिनको लागि उम्मेदवारी नदिएको बताए ।
मोक्तानले उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि राख्दै वाम गठबन्धनको साझा उम्मेदवार एमालेका कैलाश ढुङगेलेको विरुद्ध रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

उनीसँगै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वाप गठबन्धनका साझा उम्मेदवार श्याम कुमार श्रेष्ठको विरुद्ध माओवादी केन्द्रकी पूर्व सभासद लक्ष्मी गुरुङले रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका साझा उम्मेदवार शान्ति पौडेलको विरुद्ध माओवादी केन्द्रका हेमन्त पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रको शीर्ष नेताहरुले बागी उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । तर बागी उम्मेदवारी दिएको मोक्तानले माओवादीका कार्यकर्ताको चाहना र भावना अनुसार दिएको उम्मेदवार फिर्ता हुन नसक्ने बताएका छन् ।

को हुन बागी उम्मेदवार मोक्तान ?
मैन कुमार मोक्तान २०६४ संविधान सभाको निर्वाचनमा उम्मेदवारका आकांक्षी रहेका थिए । ०४७ सालबाट राजनीतिक यात्रा सुरु गरेको उनले ०४८ मा एकता केन्द्र, ०५१ मा माओवादीको विद्यार्थी पाटी सेल कमिटि सदस्य, ०५३ मा आरआर क्याम्पसको विद्यार्थी संगठनमा रही काम गरेका थिए ।
०५६ सालबाट भूमिगत हुँदै विद्यार्थीको संयोजक, ०५७ मा केन्द्रिय सदस्य, ०५८ मा पार्टी कमिटी सदस्य, ०५९ सालमा सैनिक हेडक्वाटर इन्चार्ज, ०६० सालमा दोरम्वा हत्या काण्डमा भागेर बाँचेका दुई मध्ये एक मोक्तान पनि हुन् ।

मोक्तान ०६१ मा जनमुक्ती सेनाको कम्पनी कमिसार, ०६२ मा जनमुक्ती सेनाको वटालियन सह कमिसार, ०६३ मा जिल्ला सेक्रेटरी, ०६९ मा माओवादी विभाजन पछि उनी वैद्य तर्फको जिल्ला इन्चार्ज र केन्द्रिय सदस्य र पार्टी एकतापछि हाल मोक्तान माओवादी केन्द्रको जिल्ला संयोजक र पार्टी पोलिटव्युरो सदस्य पदमा रही काम गर्दै आएका छन् । मोक्तानलाई पार्टीले प्रदेशसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । तर दुवै प्रदेश एमालेको भागमा परेपछि मोक्तानले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्