स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएपछि बामपन्थी गठबन्धमा खुसीयाली



८ कातिक, काठमाडौं ।
वामपन्थी गठबन्धनको विरुद्ध रामेछापमा नेकपा माओवादीका तीन नेताले स्वतन्त्र उम्मेदवारी दिएको उम्मेदवारी फिर्ता लिएपछि रामेछापको बाम गठबन्धनमा खुसीयाली छाएको छ । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि राख्दै माओवादीकी पूर्व सभासद लक्ष्मी गुरुङ, पोलिटब्यूरो सदस्य मैनकुमार मोक्तान र हेमन्त पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने सहमति कायम गरेको थियो । स्वतन्त्र उम्मेदवारी दिल लगत्तै पार्टीले असन्तुष्ट पक्षलाई राखेर समाधानको पहल सुरु गरेको थियो ।


पार्टीको प्रदेश कार्यालयमा भएको सहमति अनुसार तीनै जना उम्मेदवारहरुले आज जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । माओवादी केन्द्रले स्वतन्त्र उम्मेदवारी फिर्ता हुने कि नहुने भन्ने अन्यौलता थियो । तर तीनै जना उम्मेदवार र असन्तुष्ट नेताहरुले पार्टी समक्ष आफ्नो असन्तुष्टि राख्दै उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेका थिए ।
उम्मेदवारी फिर्ता लिनको लागि समय अभाव भएको कारण रामेछापका प्रतितिनिधिसभाका उम्मेदवार एवं विना विभागीय राज्यमन्त्री श्याम कुमार श्रेष्ठ, स्वतन्त्र उम्मेदवारत्रेय लक्ष्मी गुरुङ, मैन कुमार मोक्तान र हेमन्त पौडेल काठमाडौंबाट मन्थली गएका थिए । उम्मेदवारी फिर्ता लिएसँगै बामगठबन्धन उत्साहित भएको छ ।
उम्मेदवारी फिर्ता लिएकोमा श्रेष्ठद्धारा धन्यवाद ज्ञापन
विवेकपूर्ण ढंगले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको भन्दै रामेछापबाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादीका केन्द्रका नेता समेत रहेका प्रतिनिधिसभाका उम्मेदवार श्याम कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् । श्रेष्ठले उम्मेदवारी फिर्ताले जिल्लामा एकताको सन्देश दिएको बताउदै बाम गठबन्धनको विरुद्ध स्वतन्त्र उम्मेदवार फिर्ता लिन महत्वूर्ण भूमिका खेल्ने नेता र पार्टी नेतृत्व आभार व्यक्त गरेका छन् ।

वाम गठबन्धन जिताउन लाग्छुः लक्ष्मी गुरुङ
स्वतन्त्र उम्मेदवारी फिर्ता लिएपछि पूर्व सभासद लक्ष्मी गुरुङले रामेछापमा बाम गठबन्धनलाई जिताउने अभियानमा लाग्ने बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘असहमति र असन्तुष्टि पार्टीमा राखेका छौ, अहिले मुख्य कार्यभार बाम गठबन्धनलाई जिताउनु हो, हामीले विवेकपूर्ण ढंगले नै उम्मेदवारी फिर्ता लिएका हौ ।’

प्रतिक्रिया दिनुहोस्