रामेछापका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारका चुनावी एजेण्डा के ?



८ कातिक, काठमाडौं ।
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन दर्ता गर्दै चुनावी अभियान सुरु गरेका छन् । राजनीतिक दलहरुले चुनावी कार्यक्रम सार्वजनिक गर्दै चुनावी अभियानमा दौडधुपमा लागेका छन् ।
विगतका निर्वाचनजस्तै यस पटक पनि निर्वाचनमा उम्मेदवारको चुनावी एजेण्डालाई मतदाताले चासोको साथ हेरिरहेका छन् । रामेछापमा १ लाख ५२ हजार मतदाताहरुले आगामी प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई मतदान गर्नेछन् ।
निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई आर्कषित गर्ने भनेको चुनावी एजेण्डा नै हो । जिल्लाको विकास कसरी गर्ने कति बर्षसम्म कस्तो बनाउने भन्ने नै उम्मेदवारको चुनावी एजेण्डा हुन् । रामेछापमा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा हुने निर्वाचनमा मतदाताहरुले चुनावी एजेण्डाको प्रतिक्षामा छन् ।


रामेछाप जिल्लालाई एक महिना अघि मात्र पहाडी जिल्लाबाट हिमाली जिल्ला घोषणा गरिएको छ । पञ्चायतकालमा तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीले दुर्गम जिल्लालाई सुगम घोषणा गर्दा अहिले पनि जिल्ला विकासको दृष्टिकोणले पछि पर्दै आएको छ । शान्ति प्रक्रियामा आएपछि जिल्लामा विकासले गति लिएको छ ।

एक बर्षभित्र रामेछापका विद्युतीकरण बाँकी रहेका क्षेत्रमा विद्युतीकरण गर्ने कार्यक्रम अगाडि बढाइएको छ । रामेछापमा हाल करिब ३० किलोमिटर मात्र सडक कालोपत्रे छ । बाँकी ११ सय किलोमिर सडक कच्ची रहेको छ । यस पटक निर्वाचित भएका सांसदहरुले पाँच बर्ष रामेछापको नेतृत्व गर्छन ।
रामेछापको प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका विना विभागीय राज्य मन्त्री श्याम कुमार श्रेष्ठ बामपन्थी गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका छन् ।

वाम गठबन्धको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठले २०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । तामाङले पनि पहिलो पटक चुनावी मैदानमा उम्मेदवारको रुपमा आएका छन् ।

रामेछालाई आगामी दिनमा विकास गर्ने एजेण्डाको बारेमा रामेछाप–काठमाडौ पत्रकार समाजले उम्ेदवारको चुनावी एजेण्डाको बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । समाजले कातिक ९ गते १० बजे प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको समाजका सचिव दिपेन्द्र गुरुङले बताए ।

कार्यक्रममा प्रतिनिसभाका उम्मेदवारको साथै रामेछापको प्रदेश सभा १ र २ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई बोलाइएको छ । वाम गठबन्धनका नेकपा एमालेका जिल्ला अध्यक्षले प्रदेश सभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट युवा नेता रत्न कार्कीले उम्मेदवारी दिएका छन् ।

रामेछापको प्रदेश सभा क्षेत्र नम्बर २ बा वाम गठबन्धनको तर्फबाट एमालेका नेता कैलाश ढुङगेलले उम्मेदवारी दिएका छन् भने कांग्रेसबाट जितबहादुर थापामगरले उम्मेदवारी दिएका छन् । रामेछापमा बाम गठबन्धन र नेपाली कांग्रेसको बीचमा नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्