रामेछापका उम्मेदवारहरुबीच चुनावी अभियानमा आरोप–प्रत्यारोप नगर्ने सहमति



९ कार्तिक, काठमाडौं ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा रामेछापबाट प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदवारहरुले निर्वाचन अभियानको क्रममा कुनै पनि आरोप–प्रत्यारोप नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचनको अभियानमा गालीलगौज भन्दा पनि जनताको मन जित्ने खालका एजेण्डा लिएर जाने उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
रामेछाप–काठमाडौं पत्रकार समाजले राजधानीको ए वान क्याफे तीनकुनेमा आयोजना गरेको ‘प्रतिनिधि सभा र प्रदेशसभामा रामेछापका उम्मेदवारहरुका चुनावी एजेण्डा’ विषयय कार्यक्रममा सम्बोधन गर्दै रामेछापका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले रामेछापको समृद्धिको एजेण्डा लिएर जनताको बीचमा जाने बताएका छन् ।
रामेछापको प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाटनेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका विना विभागीय राज्यमन्त्री श्याम कुमार श्रेष्ठ र नेपाली कांग्रेसको तर्फबाट पूर्ण बहादुर तामाङ (कान्छाराम) उम्मेदवार रहेका छन् । दुवै जना उम्मेदवारहरुले रामेछापको विकास र समृद्धिकै एजेण्डालाई प्राथमिकता दिएर जाने बताए ।
समाजका अध्यक्ष मधुसुदन रायमाझीको समापतित्वमा भएको कार्यक्रममा रामेछापको दुई प्रदेशसभाका उम्मेदवारहरुले पनि जिल्लाको विकास निर्माणको एजेण्डालाई नै पहिलो प्राथमिकता दिएर जाने बताएका छन् । रामेछापको प्रदेश सभा १ नम्बर निर्वाचन क्षेत्रबाट वाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र कांग्रेसका नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष रत्न कार्की उम्मेदवार रहेका छन् ।
रामेछाप प्रदेशसभा २ नम्बर निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट एमालेका नेता कैलाश ढुङगेल र कांग्रेसका नेता जितबहादुर थापामगर उम्मेदवार रहेका छन् । रामेछापमा बाम गठबन्धन र कांग्रेसका उम्मेदवारहरुबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

रामेछापको विकासमा भूमिका खेल्छुः श्याम कुमार श्रेष्ठ
प्रतिनिधिसभाका उम्मेदवार, रामेछाप

राष्ट्रियस्तरका नीति निर्माण गर्न र राष्टिय समस्या समाधान गर्न मेरो भूमिका उत्साहजनक रहनेछ । रामेछापको विकास निर्माणमा पनि त्यतिकै भूमिका खेल्नेछु । स्थायी शान्ति, दीगो विकास र स्थिर सरकार जनताको चाहना हो । त्यसका लागि शासकीय स्वरुप परिवर्तन गरे जनताद्धारा निर्वाचित कार्यकारी प्रमुख आवश्यक पर्छ । त्यसको पहल गर्नेछु । प्रदेश सभा र स्थानीय तहलाई सहजिकरण गर्न विशेष भूमिका खेल्नेछ ।
युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न संरचनागत व्यवस्था गरेर रोजगारी सिर्जन ागर्नुपर्छ । पर्यटकीय जिल्लाको रुपमा रामेछापलाई स्थापित गराउन पनि भूमिका खेल्छु । निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाउँदै उनले सवै उम्मेदवारलाई पूर्ण रुपमा पलना गराउन आग्रह गरे । निर्वाचनको क्रममा आरोप प्रत्यारोप नगरी आफ्नो एजेण्डा लिएर जान्छौ ।
‘रामेछापको विकास गर्न उम्मेदवार बनेको हुँः पूर्णबहादुर तामाङ (कान्छाराम)
प्रतिनिधि सभा उम्मेदवार, रामेछाप


रामेछाप जिल्लाको विकास गर्न उम्मेदवार बनेको हुँ । स्वच्छ तरिकाले राजनीति गर्नुपर्छ । मन्थली विमानस्थल मैले नै कालोपत्रे गरेको हुँ । जिल्लाको सडक विस्तारको लागि काम गरिरहेको छु । हारजित जे भएपनि सहकार्य गरेर काम गर्न तयार छु । समाजिक काममा राजनीतिक पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु, अवको दिनमा पनि सोही अनुसार अगाडि बढ्छु । स्काभेटर, डोजर र एम्बुलेन्स सहयोग गरेको छु । आगामी दिनमा पनि गर्छु ।निर्वाचन जिते भने विकासका लागि वार्षिक २५ लाख व्यक्तिगत रुपमा खर्च गर्नेछु । राज्यबाट तलव भत्ता पनि लिन्नँ । तलवभत्ता जति नै थप गरेर जिल्लाका गरिव विपन्नलाई सहयोग गर्नेछु ।

तीन तहमा रामेछापलाई विकास गछौंः शान्ति पौडेल
प्रदेशसभा उम्मेदवार, रामेछाप क्षेत्र नम्बर १


सबभन्दा पहिला प्रदेश कानुन निर्माणमा भूमिका खेल्नेछु । सदरमुकामदेखि प्रत्येक स्थानीय तहको केन्द्रसम्म सडक पिच गर्नेछौँ । बढीमा तीन घण्टाको दूरीमा गाडी चढ्न पाउने अवस्थामा पुर्याउनेछौँ । १५ शैयाको अस्पताल प्रत्येक तहमा स्थापना गर्नेछौँ । भूकम्पपीडितलाई सस्तो दरमा घँडेरी उपलब्ध गराएर बासको व्यवस्था गर्नेछौँ । जिल्लाका धेरै तह सुख्खाग्रस्त छन् । खानेपानीको व्यवस्था गराउने छौँ । एक वर्षभित्र सवै नागरिकको घरमा विजुली बत्ति पुर्याइने छ । कृषि जोनको विकास गरेर आवश्यक बजारको व्यवस्था गरिनेछ । स्थानीय तहसँग सम्बन्वय गरेर अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनासहित विकास निर्माणको काममा लाग्नेछौँ ।

गुरु योजना बनाएर नै काम गछौंः कैलाश ढुंगेल
प्रदेशसभा उम्मेदवार, रामेछाप क्षेत्र नम्बर २


प्रदेश कानुन बनाएर विकास निर्माणको पूर्वाधार बनाउन लाग्नेछौँ । जल, पानी र जमिनमा आधारित व्यवसायिक उत्पादन गराउनेछौँ । जिल्ला सुहाउदो व्यवसायिक शिक्षा लगाउने छौँ । म जिल्ला विकास समितिको सभापति भएको बेला ५४ सालमा तयार पारिएको गुरुयोजना अनुसार नै अहिले सडक सञ्जाल विस्तार भएको छ । रामेछापमा कृषिको सम्भावना राम्रो छ । व्यवसायिक कृषि र पशुपालनमा जनतालाई लगाउने छु ।

सुन्दर रामेछाप बनाउने अभियानमा लाग्छुःरत्न कार्की
प्रदेशसभा उम्मेदवार, रामेछाप क्षेत्र नम्बर १


संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने मुख्य दायित्व छ । केन्द्र र स्थानीय तहसँग समन्वय गरेर काम गर्नेछु । जनताका साझा समस्या (सडक, खानेपानी, शिक्षा, स्वास्थ्य) समाधानमा लाग्नेछु । विभेदकारी शिक्षाको अन्त्यका लागि पहल गर्नेछु । बहुमुल्य जडिबुटीको पहिचान गरेर उपयोगमा ल्याउनेछु । बालबालिका र वृद्धवृद्धाको संरक्षक बन्नेछु । युवालाई सकारात्मक सोचका साथ विकास निर्माणको काममा लगाउनेछु । राजनीतिक, सामाजिक, आर्थिक विभेद गर्ने छैन । हरियाली, सुन्दर रामेछाप बनाउने अभियानमा लाग्नेछु

भ्रष्टाचार अन्य गर्न लाग्छुः जितबहादुर थापा मगर
प्रदेशसभा उम्मेदवार, रामेछाप क्षेत्र नम्बर २


अनियमितता, कमिसन, भ्रष्टाचारलाई शुन्यमा झार्छु । शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधारको विकास गरेर गाउँमै बस्ने वातावरण मिलाउनेछु । मैले जितेँ भने शहर पस्नुपर्ने र विदेश जानुपर्ने बाध्यता हटाउनेछु ।

 

प्रतिक्रिया दिनुहोस्