रामेछाप कम्युनिष्टको लाल किल्ला हो,कसैले भत्काउन सक्दैनःबाम गठबन्धन



१२ कार्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमाले र नेकपा माओवादीको बाम गठबन्धनले चुनावी अभियान सुरु गरेका छन् । बाम गठबन्धले आजबाट रामेछापको प्रदेश सभा निर्वाचन क्षेत्र २ ख बाट चुनावी अभियान सुरु गरेको हो । चुनावी अभियान सुरु गर्दै बाम गठबन्धनले रामेछाप कम्युनिष्टहरुको लाल किल्ला भएकाले कसैले पनि भत्काउन नसक्ने घोषणा गरेका छन् ।


रामेछापको प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार श्याम कुमार श्रेष्ठले रामेछापको लाल किल्ला कसैले पनि भत्काउन नसक्ने बताएका छन् । उनले रामेछापबाट बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर विजयी हुने बताए । माओवादी केन्द्रका पोटिब्यूरो सदस्य समेत रहेका श्रेष्ठले भने,‘रामेछाप कम्युनिष्टहरुको लाल किल्ला हो, कसैले पनि भत्काउन सक्दैन, रामेछाप बाम गठबन्धन दुई तिहाई बहुमत ल्याएर विजयी हुन्छ ।’
आगामी निर्वाचनमा बाम गठबन्धनको दुई तिहाई बहुमत आउने बताउदै उम्मेदवार श्रेष्ठले दुई तिहाई बहुमत ल्याएपछि संविधानमा रहेका केही त्रुटी सच्याएर देशलाई संविधानले कल्पना गरेको समाजवादको बाटोमा लिएर जाने बताए ।
२०७० सालको निर्वाचनमा रामेछापवासीले संविधान निर्माण गर्न विजय गराएको स्मरण गर्दै उनले आफूले प्रतिबद्धता अनुसार संविधान निर्माणमा भूमिका खेलेको बताए । श्रेष्ठले भने,‘संविधानसभा निर्वाचनमा रामेछापवासीले जिताउनु भो, गृह राज्यमन्त्री बनाउनु भो, अबको निर्वाचनमा पनि विजयी गराउने मलाई पूरा विश्वास छ ।’


उनले बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कैलाश ढुङगेलाई पनि विजयी गराउन आह्वान गर्दै साझा उम्मेदारलाई विजय गराउनु पर्नेमा जोड दिए । ‘कैलाश ढुङगेललाई प्रदेश नम्बर ३ को मुख्य मन्त्री बनाउने जिम्मेवारी पनि रामेछापबासीको काँधमा आएको छ’, उनले भने । कांग्रेसले निर्वाचन नगर्न अनेक षडयन्त्रमा लागेको आफूहरु बाम गठबन्धनमा आबद्ध भएर पनि सरकारमा रहीरहेको उम्मेदवार श्रेष्ठले स्पष्ट पारे ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य, रामेछाप जिल्ला इन्चार्ज समेत रहनुभएका बाम गठबन्धनको तर्फबाट रामेछापको चुनावी परिचालन समिमितका संयोजक देवशकंर पौडेलले रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर विजयी हुने बताए ।


चुनावी कार्यक्रममा बाम गठबन्धनको तर्फबाट रामेछापका प्रदेश सभा २ ख का नेकपा एमालेका उम्मेदवार कैलाश ढुङगेलेले बाम गठबन्धनलाई जिताउन अपिल गरे । उनले बाम गठबन्धले विजयी हासिल गरेपछि समृद्ध रामेछाप बन्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका पूर्व सभासदद्धय डिल्लीमान तामाङ र तारानारायण श्रेष्ठ, एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, माओवादी केन्द्रका नेता समेत रहेका रामेछापको प्रदेशसभा २ का चुनाव परिचालन समितिका संयोजक टंकलाल घिसिङ ‘टलक’ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्