जलविद्युत आयोजनामा रामेछापवासीलाई तीस प्रतिशत शेयरःपौडेल



१३ कार्तिक, रामेछाप ।
बामगठबन्धनको तर्फबाट नेकपा एमाले रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार शान्ति पौडेलले रामेछाप जिल्लाभित्र सञ्चालन हुने सबै जलविद्युत आयोजनामा रामेछापवासीलाई तीस प्रतिशत शेयरको ग्यारेन्टी गराउने बताएका छन् । उनले रामेछापको लिखु, खिम्ती लगायतका खोलामा सञ्चालन हुने सबै जलविद्युत आयोजनामा रामेछापासीलाई तीस प्रतिशतसम्मको शेयरको व्यवस्था गराउन भूमिका खेल्ने बताएका हुन् ।

‘काम सञ्चालन भएका हाइड्रोपावर आयोजनाहरु पाँच बर्षमा सम्पन्न गर्न भूमिका खेल्छौ’, पौडेलले भने,‘लिखु–१, लिखु–२ र लिखु–४ आयोजना सम्पन्न गर्न लाग्छौ ।’ प्रमोटर शेयरमा कम्तिमा पचास हजार रुपैयाँसम्म स्थानीयले लगानी गर्न पाउने वातावरण सृजना गरिने उल्लेख गर्दे सर्वसाधारणले पाउने दस प्रतिशत समेत जोडेर तीस प्रतिशत पुर्याउन लाग्छु, उनले भने ।
रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले रामेछापका अध्यक्ष समेत रहेका पौडेलले आगामी पाँच बर्षभित्र गुम्देलमा १२ महिना नै वडा तहसम्म यातायात सञ्चालन हुने बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी पाँच बर्षभित्र लिखु करिडोरको सडक निर्माण सम्पन्न गर्ने बताउदै कृषि व्यवसायलाई आधुनिकरण गर्दै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्