माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ



१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् ।पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ ।

यो मुद्दा परे लगतै ढुंगेल पक्राउ परेका हु्न् । २०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।

ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार भएका थिए । माओवादी केन्द्रले भने द्धन्द्धकालिन घटनाको मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसलाप्रति विमती जनाउदै सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत नै टुंगो लगाउनु पर्ने बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्