रामेछापमा बामगठबन्धनको जित सुनिश्चित भइसक्योः उम्मेदवार श्रेष्ठ



१५ कार्तिक, रामेछाप ।
बामगठबन्धनको तर्फबाट रामेछापको प्रतिनिधिसभाका साझा उम्मेदवार नेकपा माओवादीका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले ठूला कम्युनिष्ट दलहरु एक भएकाले रामेछापमा बाम गठबन्धनको जित सुनिश्चित भएको बताएका छन् । उनले रामेछामा दुई तिहाई कम्युनिष्ट रहेकाले आगामी निर्वाचनमा बामगठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । ‘हाम्रो जित सुनिश्चित भइसक्यो, घोषणा हुन मात्र बाँकी हो’, उनले भने ।


रामेछापका कुभुकास्थलीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले नेपालमा सबै खालका समस्यालाई समाधान गर्न बामगठबन्धन एक भएर आएको बताउदै बाम गठबन्धनले नै दिगो विकास,स्थायी सरकार र समृद्ध नेपाल बनाउने बताए । देशीविदेशी शक्तिहरुले बाम एकता हुन नदिने षडयन्त्र गरिरहेको बताउदै श्रेष्ठले अब कुनै पनि शक्तिले बाम एकतालाई फुटाउन नसक्ने बताए ।


कार्यक्रममा बाम गठबन्धनबाट साझा उम्मेदवार नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलले बामगठबन्धनको जितले मात्र मूलुकको समृद्धि हुने बताए । रामेछापको समृद्धिको लागि बामगठबन्धनले जित्नुको विकल्प छैन, हाम्रो जित सुनिश्चित भइसकेको छ, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्