३८४ पदमा १४०५ को उम्मेदवारी



१६ कात्तिक, काठमाडौं । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल ३ सय ८४ मा १४ सय ५ जनाको उम्मेदवारी परेको छ ।

यो विवरणसाँझ ६ बजेसम्मको भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन तर्फ १ सय २८ पदका लागि ५ सय २२ र प्रदेश सभातर्फ २ सय ५६ पदका लागि ८ सय ८३ जनाको उम्मेदवारी परेको हो ।

विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएपनि ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवारले अवेरसम्म पनि उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।

भोली उम्मेदवारको विरोधमा उजूरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजूरीमाथि जाँचबूझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको कार्यतालिका छ ।

अयोगले आज साँझ विज्ञप्ती जारी गर्दै ४५ वटै जिल्लामा उम्मेदवारी दर्ता शान्तिपूर्ण भएको जनाएको छ । अब चुनावको आशंका मेटिएको आयोगको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्