आङटावा शेर्पा बिजुली बाल्दै, रामचन्द्र खड्का बिरामी कान्छारामलाई तनाब



१७ कात्तिक, रामेछाप ।
रामेछापमा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीब्रता दिएको छ । रामेछापको प्रतिनिधिसभाको टिकट कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले पाएका छन् । टिकट वितरण प्रक्रियाप्रति रामेछापका केही नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।

बामगठबन्धनसँगको चुनावी प्रतिस्पर्धामा उत्रिएका कान्छारामले जिल्लाका केही नेताहरुको भनेजस्तो साथ नपाएपछि तनाबमा रहेको बताइएको छ । नेतृत्वसँग राम्रो पहुँच राखेर टिकट लिन सफल भएका कान्छारामले जिल्लाका अनसन्तुष्ट नेताहरुलाई नै बनाउन नसकेको कांग्रेसका एक नेताले बताए । उनले रामेछाप न्युजसँग भने,‘रातदिन नभनी पार्टी बनाउने नेताहरुले टिकट पाएनन, केन्द्रमा पहुँच भएको कारणले नै कान्छारामले टिकट ल्याउन सफल भए, यसले पार्टीभित्र आन्तरिक असन्तुष्टि अहिले पनि कामयमै छ ।’

रामचन्द्र खडका बिरामी
प्रतिनिधिसभा निर्वाचनको लागि रामेछापबाट कांग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र खड्का टिकटको दौडमा थिए । तर अन्तिम समयमा आएर खड्काले टिकट पाउनबाट बञ्चित भएका थिए । खड्का नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन् । निर्वाचनको मनोनयन दर्ता गर्नु भन्दा अघि नै रामचन्द्र खड्का भने बिरामी भएर हाल वेड रेष्टमा रहेका छन् । लामो समय राजनीतिमा सक्रिय नेता खड्का चुनावी अभियानमा नहुदा कार्यकर्ताहरुले प्रश्न उठाएका छन् । नेता खड्काले रामेछाप न्युजसँग भने,‘अस्पतालबाट डिस्चार्ज भएर घरमा आराम गरिरहेको छ, निको भएपछि अभियानमा जान्छु ।’

निवर्तमान सांसद बिजुली बाल्दै
निवर्तनमान सांसद आङटावा पनि चुनावी अभियानमा सहभागी भएका छैनन् । शेर्पा गर्जाङमा आफ्नै लगानी गरेको तीन मेगावाटको हाइड्रोपावरको बिजुली केन्द्रीय प्रशासरण लाइनमा जोडने काममा लागेका छन् । यसअघि रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद शेर्पाले आफ्नो काममा रहेकाले अहिले चुनावी अभियानमा नरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘म अहिले बिजुली जोडने काममा लागेको छ, केही दिन अझै फुर्सद छैन् ।’ शेर्पाले आफ्नो फेसबुक पेजमा लेखेका छन,‘अब हाइड्रोमा नै निर्वाचनको लगानी गर्ने हो, उद्योगपति भएर रिल्याक्स गर्ने हो ।’

उम्मेदवार कान्छाराम तनाबमा
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा स्थापित रामचन्द्र खडका र प्रदेशसभा क्षेत्र नम्बर १ का निवर्तमान सांसद आङटावा शेर्पा चुनावी अभियानमा सक्रियतापूर्वक नलाग्दा रामेछापबाट प्रतिनिधिसभाका उम्मेदवार कान्छाराम तामाङ तनाबमा परेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्