जनतासँग गरेको बाचा पूरा गरेर भोट माग्न आएको छुः श्रेष्ठ



१८ कात्तिक, रामेछाप ।
वाम गठबन्धनको तर्फबाट रामेछापको प्रतिनिधिसभाका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्याम कुमार श्रेष्ठले जनतासँग गरेको बाचा पूरा गरेर अहिले पुनः संविधान कार्यान्वयन गर्न उम्मेदवार भएर आएको बताएका छन् । उनले विगतमा जनतासँग आफ्ले संविधान निर्माण गर्न भोट मागेको बताउदै जनतासँग गरेको प्रतिबद्धता अनुसार संविधान जारी गर्न सफल भएको बताएका हुन् ।

 

उम्मेदवार श्रेष्ठले बाम गठबन्धन बनेपछि कांग्रेस आत्तिएको बताउदै अब बामपन्थी एकतालाई कुनै पनि तागतले रोक्न नसक्ने बताए । कांग्रेसलाई जनताले पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर दिएपनि जनताको चाहना भावना अनुसार चल्न सकेको बताउदै उम्मेदवार श्रेष्ठले भने,‘अबको निर्वाचनमा कांग्रेसलाई समुन्द्रको छाजलस्तै गरी बगाएर लैजान्छ ।’ दोरम्बा गाउँपालिको लखुनपुरमा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सिंगो देशको समृद्धिको मुहार फेर्नको लागि बाम गठबन्धन बनेको बताउदै रामेछापको समृद्धि र विकास पनि बाम गठबन्धनले नै गर्ने दावी गरे ।
‘काम गर्ने क्रममा म बाट पनि केही कमीकजोरी भयो होला, तर आगामी दिनमा यो कमजोरी दोहोर्याउने छैन, म जनतासँगहरुसँग प्रतिबद्धता व्यक्त गर्न चाहुन्छु’, श्रेष्ठले भने । इतिहासले दुई ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा आउने अवसर दिएको बताउदै आगामी निर्वाचनमा काँधमा काँध र हातमा हात मिलाएर बाम गठबन्धनलाई जिताउन आग्रह गरे ।


कार्यक्रममा रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट बाम गठबन्धनको साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुङगेले बाम गठबन्धन आजको आवश्यकता भएकाले रामेछापर्का विकास बाम गठबन्धनले नै गर्ने बताए । उनले बाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्दै सबै एकताबद्ध भएर लागेकाले अब बामपन्थी गठबन्धनको जित रामेछापमा सुनिश्चित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्