यी हुन रामेछापका प्रत्यक्ष र समानुपातिक उम्मेदवार



१८ कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुन प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरु जनताको घरदैलोमा भोट माग्न व्यस्त भएका छन् । उम्मेदवारी दर्ता गराएलगत्तै राजनीतिक दलका उम्मेदवारहरु चुनावी अभियानमा जुटेका हुन् ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको लागि रामेछापबाट प्रतिनिधित्व गर्ने समानुपातिक उम्मेदवारको सूची पनि सार्वजनिक भएको छ । रामेछापबाट एमाले र माओवादीबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि समानुपातिक उम्मेदवार बनाए पनि कांग्रेसको तर्फबाट कोही पनि समानुपातिकको बन्द सूचिमा परेका छैनन् । रामेछापमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन र नेपाली कांग्रेसको बीचमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।


रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ र नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) उम्मेदवार रहेका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनको साझा उम्मेदवार नेकपा एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल र प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका युवा नेता रत्न कार्कीले उम्मेदवारी दिएका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनको साझा उम्मेदवार एमालेका कैलाश ढुंगेल र कांग्रेसका नेता जितबहादुर थापामगर चुनावी प्रतिस्पर्धामा छन् ।
जिल्लाको ८ वटा स्थानीय तहको ६४ वटै वडामा उम्मेदवारहरुले चुनावी अभियान अगाडि बढाएका छन् । उम्मेदवारहरुले चुनावी सभा कोण सभा र घरदैलो अभियानलाई तीब्रता दिएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायको अनुसार हाल रामेछाप जिल्लामा १ लाख ५२ हजार मतदाता रहेका छन् । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा एमाले र माओवादी केन्द्रबाट दुई दुई जना प्रदेशसभा र प्रतिनिधिसभाको लागि समानुपातिक उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रको तर्फबाट पोलिटब्युरो सदस्य आगामी प्रतिनिधिसभाको लागि समानुपातिक सूचिमा परेका छन् भने माओवादी केन्द्रकी पूर्व सभासद लक्ष्मी गुरुङ रामेछापबाट प्रदेशसभाबाट समानुपातिक उम्मेदवार बनेकी छिन् ।
त्यसैगरी नेकपा एमालेको तर्फबाट पनि प्रदेशसभा र प्रतिनिधिसभाको लागि नै समानुपातिक सूचीमा समावेश भएका छन् । रामेछापको प्रदेशसभाबाट एमाले रामेछापका जिल्ला सचिव आनन्द श्रेष्ठ र प्रतिनिधिसभाको लागि चुडादेव सिंह लामा घिसिङ समानुपातिक उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्