रामेछापलाई समृद्ध बनाउन बाम गठबन्धन प्रतिबद्ध छः श्रेष्ठ



१९ कात्तिक, रामेछाप ।
वाम गठबन्धनको तर्फबाट रामेछापका प्रतिनिधिसभाका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले रामेछापको समृद्धि र विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । उनले आगामी दिनमा बाम गठबन्धनले मात्र रामेछापको विकास गर्न सक्ने बताएका हुन् ।
रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले आर्थिक समृद्धि र दिगो विकासको लागि दुई ठूला कम्युनिष्ट पार्टीको बीचमा बाम गठबन्धन बनेकाले कम्युनिष्ट पार्टीहरु मिलेर विश्वलाई सन्देश दिएको बताए । राष्ट्रिय अखण्डता सार्वसभौमसत्ता, राष्ट्रमा सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशामा लैजान बामपन्थी शक्तिको एकताले नयाँ युगको सुरु भएको छ, उनले भने । ‘समृद्धि र विकास रामेछापवासीको चाहना हो’,श्रेष्ठले भने,‘हामी जनतासँग गरेको प्रतिबद्धता अनुसार नै रामेछापको मुहार फेरेर देखाउछौ ।’

शासकीय स्वरुपमा परिवर्तन गर्ने उदेश्य सहित बाम गठबन्धन बनेको बताउदै उनले अब कम्युनिष्टहरुलाई विभाजित हुने अधिकार नरहेको बताए । बाम गठबन्धनको बीचमा असमझदारी ल्याउन वालकृष्ण ढुंगेललाई पक्राउ गरेको बताउदै आफूहरु जस्तोसुकै षडयन्त्रलाई चिरेर अगाडि बढ्ने दृढ रहेको श्रेष्ठले बताए । रामेछापमा अहिले स्थानीय सरकार बाम गठबन्धनले नेतृत्व गरिरहेको उल्लेख गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उत्कृष्ट मत ल्याएर रामेछापवासीले बाम गठबन्धनलाई विताउने विश्वास उनले व्यक्त गरे ।

‘लोकतन्त्रप्रति हामी प्रतिबद्ध छौ, हामीलाई लोकतन्त्रको पाठ कांग्रेसले सिकाउन पर्दैन’, उनले भने‘कम्युनिष्ट शासन आयो भने लोकतन्त्र मासिन्छ भन्ने भ्रम कांग्रेसले फैलाएको छ, रामेछापमा कांग्रेसका नेताहरु समाजवाद भनेको जोडर र एम्बुलेन्स भनेर भन्दै हिडेका छन रे ।’ लोकतन्त्रको बारेमा जनतालाई भ्रम छर्ने र कूकर्मको काम नगर्न पनि उनले कांग्रेसलाई चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्