रामेछाप तीन लालको जिल्ला, बाम गठबन्धनको लाल किल्ला



रामेछाप जिल्ला ऐतिसिक भूमि हो । रामेछाप राष्ट्रिय रुपमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा पनि परिचित छ । रामेछापको पहिचान राजनीतिक पृष्ठभूमिबाट नै सुरु हुन्छ । जहानियाँ राणा शासन ढाल्नको लागि शहीद हुनुभएका गंगालाल रामेछापकै माटोमा जन्मिएका थिए । तत्कालिन राज्यशक्ताको विरुद्ध जनताको मुक्ति र न्यायको लागि हाँसीहाँसी फाँसीमा चढन गंगालाल राजी भएको दृष्टान्त छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म पनि रामेछापकै भूमिमा भएको हो ।
रामेछापमा जन्मिएर देश र जनतालाई अधिकार सम्पन्न बनाउने सपना देख्दै कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । राजनीतिक अधिकार दिलाउनको लागि पुष्पलालले तय गरेको बाटो पछ्याउदै आज देशका दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र संविधानले परिकल्पना गरेको समाजवादी व्यवस्था ल्याउनको लागि बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । नेपालको इतिहासमा कृष्णलाल अधिकारी पनि जनताको मुक्ति र देशको समृद्धिको लागि शहीद बने ।

रोज थिङ

कृष्णलाल अधिकारी पनि रामेछापकै भूमिमा जन्मिएर जनताको मुक्तिको लागि राणा शासनको विरुद्ध ‘मकैको खेती’ किताब लेखेकै कारण शहीद भए । देशको यो परिवर्तनको लागि रामेछापले निकै ठूलो त्याग र वलिदानी गरेको छ । देश र जनताको लागि शहीद हुने महान वीर सपुत रामेछापकै भूमिले जन्मायो ।
रामेछाप अहिले तीन लालको जिल्ला भनेर पहिचान बनेको छ । आज तीन लालको जिल्ला भनेर भन्न पाउदा रामेछापवासीको शीर उच्च हुने गरेको छ । किनकी अहिलेको लोकतान्त्रिक गणतन्त्र ल्याउनको लागि पनि तीन लालले जग बसालेका थिए । केही पार्टीहरुलाई लागेको छ लोकतान्त्रिक गणतन्त्र कसैले टपक्क टिपेर ल्याइदिएको हो । इतिहासमा आज रामेछाप कम्युनिष्टहरुको उर्वर भूमिको रुपमा चिनिएको छ । रामेछापले इतिहासमा खेलेको भूमिकाको कारण आजको परिवर्तन सम्भव भएको हो ।
कम्युनिष्टहरुको इतिहास रच्ने रामेछापले अझै धेरै गर्न बाँकी छ । शहीदले देखाएको सपना पूरा गर्न रामेछापवासीको अझ धेरै जिम्मेवारी र दायित्व हुन आउछ । अहिले बाम गठबन्धनले संविधानले परिकल्पना गरेको समाजवादी व्यवस्था स्थापना गर्ने उदेश्य सहित एउटै कम्युनिष्ट पार्टी निर्माणको चरणमा छन् । यो निर्णयले सिंगो नेपाली जनतालाई खुसी बनाएको छ ।
रामेछापले जहानियाँ राणा शासन, पञ्चायती व्यवस्था हुँदै जनयुद्धको समयमा पनि देश र जनता लागि ठूलठूला वलिदानी दिएको छ । जनयुद्धको समयमा बेथान फौजी आक्रमण, दोरम्बा हत्याकाण्ड, गर्जाङ लगायतका धेरै स्थानमा वलिदानी दिएको छ । दस बर्षे जनयुद्धको क्रममा रामेछापबाट मात्र ११८ जना शहीद भएका छन् । दोरम्बा हत्याकाण्ड आज पनि राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत चर्चाको विषय बन्दै आएको छ । इतिहास रहरमा लेखिने विषय होइन । इतिहास जो पायो त्यसले लेख्ने अवसर पनि पाउदैन । देशमा अहिलेको परिवर्तन ल्याउनको लागि रामेछापको कम्युनिष्ट आन्दोलनले शसक्त र प्रभावकारी भूमिका खेल्दै आएको छ र खेल्ने छ ।
इतिहासले एक पटक पुनः रामेछापलाई नयाँ युगको सुरुवात गर्ने अवसर प्रदान गरेको छ । रामेछापमा भएका संसदीय निर्वाचनमा कम्युनिष्टहरुले नै जित्दै आएका छन् । स्थानीय तहको कुरा गर्ने हो भने एउटा स्थानीय तह बाहेक सात वटा स्थानीय बामपन्थी गठबन्धनले जित हासिल गरेको छ । ८ मध्ये सात वटा स्थानीय तहमा निर्वाचित हुन कम्युनिष्टहरुको बलियो आधारस्थल भएको प्रमाण हो ।
रामेछाप विस्तारै विकासको गतिमा लम्किदै छ । समृद्धिको पर्खाइमा छ । रामेछापको समृद्धि र विकास वाम गठबन्धनले मात्र गर्न सक्छन । किनकी यो परिवर्तन ल्याउनको लागि सबै भन्दा बढी पसिना र रगत कम्युनिष्टहरुले नै बगाएका छन् । बच्चा जन्माउने आमालाई मात्र बच्चाको माया हुन्छ । यो देशमा अहिलेको परिवर्तन ल्याउनको लागि कम्युनिष्टहरुले नै बढी भूमिका खेलेका छन् । त्यसैले परिवर्तनलाई संस्थागत गर्ने बढी जिम्मेवारी पनि बाम गठबन्धनकै हो ।
अहिले निर्वाचनको क्रममा वाम गठबन्धनले स्पष्ट नीति र योजना अगाडि सारेको छ । लक्ष्य निर्धारण गर्नुको साथै समृद्धि रामेछाप निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जिल्लाको मुहार फेर्न संकल्प बाम गठबन्धनले गरेको छ । जो सँग योजना दृष्टिकोण र लक्ष्य हुन्छ । उसैले मात्र ती निर्धारित योजना र लक्ष्य पूरा गर्न प्रतिबद्ध हुने हो । त्यसैले रामेछापमा बाम गठबन्धन विजयी हुँदा मात्र समृद्धि रामेछाप निर्माणको आधार तयार हुन्छ ।
रामेछापमा बाम गठबन्धले स्पष्ट दृष्टिकोण सहित रामेछापको समृद्धि र राजनीतिक स्थायित्वको लागि जनताहरुसँग मत मागिरहेको छ । यता कांग्रेसले भने स्काभेटर र एम्बुलेसको सपना बाँडेर भोट मागिरहेको छ । रामेछाप जिल्लाको लागि स्काभेटर, एम्बुलेन्स आवश्यक हो । यो जनताको दैनिकीसँग जोडिएको विषय हो । तर यो निर्वाचनको क्रममा गर्न मिल्ने कुरा होइन । जनतासँग आफ्नो प्रतिबद्धता लिएर जाने भन्दा पनि जनतालाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने गरी भोट माग्ने कांग्रेसको यो कस्तो लोकतन्त्र हो ?
जनताको मन जितेर मात्र निर्वाचनमा विजयी हुने हो । जनतालाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने गरी स्काटभेटर र एम्बुलेन्सको सपना देखाउदै हिडनु कतिको जाजय हो ? जिल्लाको विकास र समृद्धि एक दुई वटा डोजर र एम्बुलेन्सले मात्र हुन सक्दैन । जिल्ला बनाउने स्पष्ट मार्गचित्र अनुसार काम गर्ने सही नेतृत्वकोको आवश्यकता छ । त्यसको नेतृत्व रामेछापमा बाम गठबन्धनले मात्र गर्न सक्छ ।
कम्युनिष्टहरुका केही नेताहरुको प्रवृत्तीप्रति जनताको असन्तुष्टि हुन सक्छ । तर कम्युनिष्ट आन्दोलनले लिएको लक्ष्य र उदेश्यमाथि जनताको असन्तुष्टि छैन् । यसलाई वाम गठन्धनले सच्याउदै लैजानु पर्छ । कमजोरी काम गर्ने मानिसकै हुने हो । काम नगर्ने ढुंगोको मुर्तिले कहिले पनि गल्ती गर्दैन । किनकी उसले कहिल्यै काम गर्दैन । बाम गठबन्धनले नै रामेछापभित्र रहेको समस्याको चाङ पन्छाउदै समृद्धि रामेछाप निर्माण गर्न सक्छ ।
रामेछापकपो समृद्धिको लागि बाम गठबन्धनलाई जिताउनुको अर्को विकल्प छैन् । यसर्थ आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएकाहरुलाई भारी मतले विजयी गराउनको विकल्प रामेछापवासीसँग छैन् ।

(लेखक हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस्