रामेछापमा ११९ वटा खानेपानी योजना रोक्न निर्देशन, खानेपानीको हाहाकार



२३ कात्तिक, रामेछाप ।
रामेछापमा सञ्चालित ११९ वटा खानेपानी योजनाको निर्माण कार्य रोक्न सरकारले निर्देशन जारी गरेको छ । खानेपानी विभागले जिल्लामा सञ्चालित उक्त खानेपानी योजना रोक्न उपभोक्ता समितिहरुलाई पत्राचार गरेको हो । बर्षौदेखि खानेपानीको पीडा खेप्दै आएका रामेछापवासीलाई विभागले निर्देशनले झन बढी सास्ती दिएको छ ।

भुकम्पको कारण क्षतिगस्त भएका खानेपानी योजना मर्मत र निर्माण गर्नको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले १३१ वटा खानेपानी योजना छनोट गरेर निर्माण कार्य सुरु गरेको थियो । तर प्राधिकरणले बजेट नदिएपछि खानेपानी विभागले भुकम्प प्रभावित रामेछापको खानेपानी योजना नै बन्द गर्न निर्देशन दिएपछि रामेछापवासी रुष्ट भएका छन् । खानेपानीको योजना सम्पन्न भएपछि घर निर्माण गर्ने आशामा बसेका भुकम्प पीडित थप निराश भएका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट निर्माण कार्य अगाडि बढेको १३१ खानेपानी योजना मध्ये केही योजना सम्पन्न भएका छन् । गत बर्ष ती योजनाको लागि प्राधिकरणले ४ करोड ४६ लाख रुपैयाँ प्रदान गरेको थियो । तर यस बर्ष समयमा नै बजेट नआउदा खानेपानीका योजना अलपत्र परेको छन् ।

खनेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोकबहादुर चौलागाईले जिल्लाले आवश्यक सबै योजना र लागत खानेपानी विभागलाई पठाइसकेको बताए । उनले रामेछापसँग भने,‘भुकम्पपछि सुरु भएका केही योजना सम्पन्न भएका छन्, केही सम्पन्न हुने चरणमा छन्, समयमा योजना सम्पन्न नहुँदा भुकम्प पीडित मर्कामा परेका छन् ।’

प्राधिकरणबाट बजेट आउनेमा अन्यौलता भएपछि खानेपानी विभागको पत्रचार नै गरेर काम रोक्न निर्देशन दिएको हो । भुकम्प प्रभावित रामेछाप जिल्लामा भुकम्पको कारण भएको मुहान सुक्नुको साथै धेरै मुहानहरुमा क्षति पुर्याएको थियो । रामेछाप जिल्लाको सदरमुकाम मन्थली आसपासको क्षेत्रमा खानेपानीको निकै समस्या छ । खानेपानीको मुहान नहुँदा अहिले ती क्षेत्रहरुमा सुनकोसी, तामाकोसी लगायतका नदी र खोलाबाट लिफ्ट सिस्टम मार्फत खानेपानीका योजनाहरु सञ्चालन भइरहेका छन् ।
सुनापति गाउँपालिका–४ बेथानस्थित भस्मे खोला लिफ्ट खानेपानी योजनाको काम सम्पन्न नहुँदा भुकम्प पीडितले पहिलो किस्ता लिएर पनि घर निर्माण गर्न सकेका छैनन् । भस्मे खेला लिफ्ट खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष मनोज केसीले बजेटको अभावमा काम रोकिएको बताए ।

उनले रामेछाप न्युजँग भने,‘खानेपानी विभागले काम रोक्न निर्देशन सहितको पत्र पठाएको छ, हामीले काम रोकेका छौ, भुकम्प पीडितले खानेपानीबाट बञ्चित गर्ने खानेपानी विभाग र पुननिर्माण प्राधिकरणको नियत हामीले बुझ्न सकेका छैनौ ।’ उनले विभाग र प्राधिकरणसँग बुझ्दा विभाग र प्राधिकरणबीच नै समन्वयको अभाव देखिएको बताए । भुकम्पबाट प्रभावित खानेपानी योजना निर्माणको लागि सात करोड रुपैयाँ विनियोजन भएपनि अहिलेसम्म बजेट भने जिल्लामा पुग्न सकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्