लिखुमा कांग्रेसका युवा नेता पौडेल सहित दर्जनौ बाम गठबन्धनमा प्रवेश



२७ कात्तिक, रामेछाप ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै जादा रामेछापमा कांग्रेस राप्रपा लगायतका पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गर्नेहरुको लहर चलेको छ । स्थानीय तहको निर्वाचनको परिणाम अनुसार तीस हजार मतले अगाडि रहेको बाम गठबन्धनप्रति विभिन्न पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गर्नेहरुको लहर चलेको हो ।


रामेछापको लिखु गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी केशर पौडेल सहितका दर्जनौ नेता तथा कार्यकर्ताहरु कांग्रेस परित्याग गरी बाम गठबन्धनमा प्रवेश गरेका छन् । लिखु गाउँपालिकाको धोवीमा आयोजित चुनावी सभाको अवसरमा विभिन्न पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।


बाम गठबन्धनमा प्रवेश गरेका नेता पौडेलले अब कांग्रेसको नेतृत्वमा देशको विकास र समृद्धि नहुने देखेर बाम गठबन्धनमा प्रवेश गरेको बताए । उनले भने,‘देश बनाउने भिजन बाम गठबन्धनसँग मात्र छ, रामेछापको विकास र समृद्धि कांग्रेसले होइन बाम गठबन्धनले मात्र गर्न सक्छ ।’

कांग्रेस परित्याग गरी बाम गठबन्धनमा प्रवेश गर्नेहरुमा गोविन्द काफ्ले, हेमराज काफ्ले, दुर्गा खत्री, शिवबहादुर खड्का, मिनबहादुर श्रेष्ठ, रामबहादुर काफ्ले, अमन्तीनाथ उपाध्याय,दिलबहादुर काफ्ले रहेको छन् । त्यसैगरी राप्रपा परित्याग गरी बाम गठबन्धनमा प्रवेश गर्नेहरुमा सिताराम नेपाली, प्रकाश खड्का, श्याम आले गरेका छन् ।

नव प्रवेशीहरु नेता तथा कार्यकर्ताहरुलाई रामेछापका संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक एवं एमालेका केन्द्रीय सदस्य देवशकंर पौडेल,माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य युवराज चौलागाई, रामेछापका प्रतिनिधिसभाका लागि बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका श्याम कुमार श्रेष्ठ, रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का बाम गठबन्धनका साझा उम्मेदवार एमालेका शान्ति पौडेलल लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्