राज्यको सम्पत्ती चुनावको मुखमा मत किन्ने प्रयोजनका लागि वितरण गर्न थालिएपछि स्वतन्त्र चुनाव हुनेमा गम्भीर आशंका उत्पन्न भएको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखांै रुपैयाँको चेक वितरण गरिएको हो । गृहमा यतिखेर आर्थिक सहायता बापतको चेक लिनेको भीड बढेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै सरकारलाई आर्थिक सहायता वितरणमा रोक लगाए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै लाखौं रुपैयाँका चेक वितरण गरिरहेको हो । चुनाव जितेर आएपछि देशको हित विपरित काम गर्ने र पैसा बाँडेर नयाँ चुनाव प्रभावित पार्ने कांग्रेसको पुरानै प्रबृत्ति हो । देश, जनता र मुलुकको आर्थिक अवस्था जर्जर बन्दै गए पनि यसरी चुनावका मुखमा बाँडिएको रकमको सहायताले कांग्रेस उम्मेदवारहरु जनमत नभएका ठाउँमा पनि विगतदेखि चुनाव जित्दै आउने गरेका थिए ।

 

गृह मन्त्रालयले एभरेस्ट बैंकको चेक काट्दै कांग्रेस कार्यकर्तालाई ५० हजार देखि ५ लाख रुपैयाँसम्म दिइरहेको छ । आइतबार गृह मन्त्रालय आर्थिक प्रशासन शाखामा चेक लिनेको घुइँचो थियो । चेक लिने सबै कांग्रेसको चुनाव परिचालनमा खटिएका कार्यकर्ता थिए । गृहले २३ करोडभन्दा बढी रकम मन्त्रालयबाटै वितरण गर्न थालेको छ । सरकारले २ असोजमा ८ सय ८७ जनालाई र ६ कात्तिकमा ३ सय १० जनालाई आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयअनुसार गृह मन्त्रालयले अहिले चेक वितरण थालेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले सरकारको निर्णयलाई कार्यान्वयन गर्न आर्थिक सहायता वितरण थालिएको जानकारी दिए ।

गृहको आर्थिक प्रशासन शाखाका अनुसार अहिले २ असोजमा निर्णय गरिएका ८ सय ८७ जनालाई चेक वितरण गर्न थालिएको छ । त्यसका लागि गृहलाई अर्थ मन्त्रालयले केही दिनअघि मात्रै १० करोड निकासा दिएको थियो । यसैगरी, अब छिट्टै ३ सय १० जनालाई चेक वितरण गरिने र सोका लागि अर्थ मन्त्रालयसँग थप १० करोड रुपैयाँ माग गरिएको गृह मन्त्रालयको आर्थिक प्रशासन शाखाले जानकारी दिएको छ ।

सहायता पाएका भनिएका व्यक्तिको विस्तृत विवरण र ठेगाना उल्लेख नभएकाले एकै व्यक्तिको नाममा धेरै व्यक्ति आर्थिक सहायता लिन आउने गरेका छन् । आर्थिक प्रशासन शाखाका अनुसार आर्थिक सहायता पाउनेमा अर्जुन खड्का उदयपुरको नाममा ४ लाख दिने निर्णय गरिएको छ तर ती खड्काबारे विस्तृत विवरण गोप्य राखिएको छ । मन्त्रालयका अनुसार कतिपय एउटै व्यक्तिको नाम दुई ठाउँमा पर्दा उनीहरूले दुवै पटक रकम दाबी गरेका छन् । रोल्पाका शालिकराम ओलीको नाममा ५० हजारको चेक बनिसके पनि तिनै ओली फेरि शालिकराम भण्डारीको नाममा रहेको २ लाखको चेक लिन आएका छन् । उनले आफ्नो नाम शालिकराम ओली नभएर शालिकराम भण्डारी भएको भन्दै पुनः २ लाख रुपैयाँ दाबी गरेको मन्त्रालयले जनाएको छ ।

गृहका अधिकारीका अनुसार उच्च राजानीतिक पहुँच भएकाहरूले यसरी आर्थिक सहायता पाउँदै आएका छन् । गरिब, विपन्न, अशक्त र पहुँच नभएका नागरिकले यस्तो अवसर कमै मात्र पाउने गरेका छन् । गृहका अनुसार विपन्न नागरिकलाई आर्थिक सहायता दिने गरी गृह मन्त्रालयले बनाएको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिको खिल्ली उडाउँदै गृह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजनीतिक पहुँचवालालाई लाखौं रुपैया बाड्दै आएको छ ।

गृह मन्त्रालयबाट कांग्रेसलाई चुनाव खर्च विवरण
५ साउनमा १२ जनालाई १ करोड १२ लाख
१२ साउनमा १० जनालाई ८५ लाख
५ भदौमा ९० जनालाई २ करोड ५९ लाख
१९ भदौमा ८ जनालाई २० लाख
२ असोजमा ८८७ जनालाई १० करोड
७ कात्तिकमा ३१० जनालाई ८ करोड

साभार अन्नपूर्णपोष्ट