रामेछापका ३० हजार मतदाता काठमाडौंमा



२७ कात्तिक, रामेछाप ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापका राजनीतिक दलहरुले चुनावी अभियानलाई तीब्रता दिएका छन् । रोमछापबाट काठमाडौमा रहेर विभिन्न पेशा र व्यवसायमा आबद्ध राजनीतिक दलका भातृ संगठनहरु निर्वाचनमा मतदाता पहिचान गरी गाउँगाउँमा ल्याउन सक्रिय भएर लागेका छन् ।

गाउँगाउँमा राजनीतिक दलका उम्मेदवारहरु भोट माग्न जनताको घरदैलौमा पुगको छन् भने काठमाडौमा भने आफ्नो पार्टीलाई जिताउन राजनीतिक दल आबद्ध रामेछाप–काठमाडौं सम्पर्क मञ्च, संगठन लगायत भातृ संगठनहरु सक्रिय भएका छन् । जिल्लामा उम्मेदवारहरु चुनावी सभामा जुटेका छन् भने राजधानीमा रहेका नेता तथा कार्यकर्ताहरु भने आ–आफ्ना कार्यकर्ताहरुलाई कसरी रामेछापसम्म मतदान गर्न लैजाने भन्ने तयारीमा जुटेका छन् ।
राजनीतिक दलहरुको तथ्याङक अनुसार राजधानी काठमाडौमा मात्र रामेछापका करिब तीस हजार मतदाता रहेका छन् । रामेछापबाट विभिन्न पेशा व्यवसाय गरेर काठमाडौंमा रहेका मतदाताहरुलाई मंसिर १० गते रामेछाप लैजाने तयारीमा जुटेका छन् । अहिले काठमाडौबाट रामेछापको सबै क्षेत्रमा सहज रुपमा यातायात आवतजावत गर्न भएकाले मतदातालाई ल्याउन सजिलो हुने आकलन राजनीतिक दलका उम्मेदवारहरुले गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापमा हाल १ लाख ५२ हजार मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले स्थानीय तहको निर्वाचनमा १ लाख ३४ हजार रहेको मतदाता पछिल्लो पटक थपिएर १ लाख ५२ हजार पुगेको बताए । उनले रामेछाप न्युजसँग भने,‘स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा छाप लगाउनु पर्ने कारण मत बदर भएपनि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थोरै मात्र मत बदर हुन्छ ।’

आगामी निर्वाचनमा करिब दस हजार मतदाता वैदेशिक रोजगारीको शिलसिलामा विदेशमा रहेकाले मतदान गर्न नपाउने भएका छन् । राजनीतिक दलका उम्मेदवारहरुले काठमाडौमा रहेका आ–आफ्नो मतदातालाई मतदान केन्द्रसम्म ल्याएर मतदान गराउने गरी आवत जावतको गृहकार्यमा जुटेका छन् । रामेछापको एक प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । प्रदेशसभा निर्वाचनमा रामेछापको क्षेत्र नम्बर १ मा भन्दा क्षेत्र नम्बर २ मा मतदाताको संख्या बढी रहेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा रामेछापबाट बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ र नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
त्यसैगरी प्रदेशसभाको निर्वाचनमा रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका अध्यक्ष शान्ति पौडेल र कांग्रेसका नेता रत्न कार्की चुनावी प्रतिस्पर्धामा छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवार एमालेका नेता कैलाश ढुंगेल र कांग्रेसका नेता जितबहादुर थापामगर चुनावी मैदानमा रहेका छन् । स्थानीय तहको निर्वाचनको परिणाम अनुसार रामेछापमा बाम गठबन्धन तीस हजार मतले अगाडि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्