कुलमान घिसिङलाई ठूलो सफलता



३० कात्तिक, काठमाडौं ।
लोडसेडिङ हटाएर सिंगो मूलुकलाई नै उज्यालो बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि अर्को सफलता हाल परेको छ । लोडसेडिङ हटाउनको लागि अहोरात्र खटिदै आएका घिसिङले अगाडि बढाएको २५ मेगावाट क्षमताको सोलार प्लान्ट परियोजना निर्माण गर्न बाटो खुलेको छ ।

२५ मेगावाट क्षमताको सोलार प्लान्ट परियोजनाका सबै प्रक्रिया रोक्न तत्कालीन संसदको लेखा समितिले दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै अब घिसिङलाई लोडसेडिङ हटाउने अभियानमा थप टेवा पुगेको छ । लेखा समितिको निर्देशनका कारण रोकिएको परियोजनाको काम फेरि अघि बढ्ने भएको छ ।

नुवाकोटको परियोजना ठक्का दिने क्रममा अनियमिता भएको भन्दै सार्वजनिक लेखा समितिले गत साउन १७ मा ठेक्का सम्झौता खारेज गर्न निर्देशन दिएको थियो । लगतै विद्युत प्राधिकरणले प्रक्रिया रोक्न राइजन इनर्जीलाई २२ साउनमा पत्र लेखेको थियो । प्राधिकरणको पत्रविरुद्ध राइजन इनर्जी अदालत गएको थियो । साथै उसले प्राधिकरणसँग २ करोड ७७ लाख अमेरिकी डलर अर्थात २ अर्ब ७७ करोड रुपैयाँ क्षतिपूर्ति मागेको थियो ।

उच्च अदालत पाटनले २३ कात्तिकमा लेखा समितिको निर्देशन बमोजिम प्रकिया ‘नरोक्नुरनरोकाउनु अन्तरिम आदेश दिएको छ । अनिश्चितकालका लागि निलम्बनमा रहने गरी भएको निर्णय प्राकृतिक न्यायको सिद्दान्त विपरित हुने अदालतको ठहर छ ।

कामु मूख्यन्यायाधीश दुर्गादत्त भट्टको एकल इजलाशले पनि निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेकाले निर्माण रोक्न नमिल्ने भनेको छ । अदालतको आदेशको पत्र आएपछि यसलाई अघि बढाइने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

उनले भने,‘अदालतको आदेशपत्र आएपछि आवश्यक प्रक्रिया अगाडि बढछ ।’ यो आयोजना विद्युत प्राधिकरणले तीन करोड ७९ लाख ८४ हजार चार सय १० अमेरिकी डलर र एक करोड ३५ लाख ६० हजार रुपैयाँ (मूल्य अभिवृद्धि कर र भन्सार महसुलसहित)मा ठेक्का दिएको थियो ।

यो सोलार प्लान्ट विश्व बैंकको ग्रिड सोलार इनर्जी इफिसियन्सी परियोजना अन्तर्गत निर्माण हुन लागेको हो, जसमा यो विश्व बैंकको चार अर्ब रुपैयाँ ऋण सहयोग र बाँकी ८० करोड रुपैयाँ नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको थियो । आयोजनालाई यही हिउँदसम्ममा सक्ने प्राधिकरणको योजना थियो तर, लेखा समितिको निर्देशनको कारण रोकिन पुगेको थियो । अब उक्त योजना निर्माण हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्