रामेछापमा कान्छारामका दाई अम्बरबहादुर तामाङ भन्छन–रामेछापमा बाम गठबन्धनले जित्छ (भिडियो सहित)



निर्वाचनको मिति आउन दस दिन मात्र बाँकी रहदा रामेछापमा बाम गठबन्धन र कांग्रेसले चुनावी अभियानको दौडधुप बढेको छ । रामेछापमा स्थानीय तहको मत अनुसार कांग्रेस भन्दा बाम गठबन्धन २९ हजार मतले अगाडि छ । अझ रोचक त के छ भने रामेछापको प्रतिनिधिसभाका लागि कांगेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)का आफ्नै सहोदर दाई अम्बर बहादुर तामाङ रामेछापमा बाम गठबन्धन जिताउन भन्दै भोट माग्दै हिडेका छन् ।


आफ्नै सहोदर भाई निर्वाचनमा उठदा समेत अम्बरबहादुर तामाङ भने रामेछापको प्रतिनिधिसभाको लागि बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ, रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका साझा उम्मेदवार एमालेका जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र प्रदेशसभा क्षेत्र नम्बर २ का बाम गठबन्धनका साझा उम्मेदवार एमालेका नेता कैलाश ढुंगेल जिताउने अभियानमा जुटेका छन् । यसै विषयमा भाई (कान्छाराम) निर्वाचनमा उम्मेदवार हुँदा पनि तपाई किन बाम गठबन्धनलाई जिताउन लाग्नु भयो ? भन्ने लगायतका विषयमा कान्छाराका सहदोर दाई अम्बरबहादुर तामाङसँग रामेछाप न्युजले गरेको कुराकानीः–

तपाईको आफ्नै भाई (कान्छाराम) कांंग्रेसबाट रामेछापको प्रतिनिधिसभाको उम्मेदवार उठनु भएको छ । तपाई चाहीँ भाईको पक्षमा नलागेर किन बाम गठबन्धनको पक्षमा लाग्नु भएको ?
–म २०३७ सालदेखि नै कम्युनिष्ट पार्टीको राजनीतिमा लागेको व्यक्त हुँ । राजनीतिमा नातागोता दाजुभाई र जात भन्ने हुँदैन । हरेक व्यक्तिलाई आफ्नो विचार राख्न पाउने अधिकार छ । व्यक्तिलाई मन परेको विचार अबलम्बन गर्ने हो । यो देशको समृद्धि अब बाम गठबन्धनले मात्र गर्न सक्छ । त्यसैले म बाम गठबन्धन जिताउने अभियानमा लागेको छु ।
दाजुभाई, छिमेकी, भेगीय र जातिको आधारमा सहयोग गर्ने भनेको विवाह ब्रतबन्ध, अर्मपर्ममा मात्र हो । तर राजनीतिमा यो नियम लागू हुँदैन । अहिलेको यो अभियान राष्ट्र बनाउने अभियान हो । देश बनाउने अभियान हो । त्यसैले आफ्नै भाई प्रतिनिधिसभाको उम्मेदवार हुँदाहुदै पनि म वामपन्थी गठबन्धनलाई भोट माग्दै हिडेको छु ।

तपाईलाई भाई (कान्छाराम)ले निर्वाचनमा सहयोग गर्नु पर्यो भन्नुभएन ?
–भाई (कान्छाराम)ले मैले टिकट पाए भनेर भनेको थियो । ल राम्रै भएछ भनेर मैले जवाफ दिए । मैले आफूले लिएको विचारको राजनीति गर्ने हो । भाईले आफूले लिएको विचारको राजनीतिक गर्ने हो । मैले नैतिक रुपमा पनि भाइलाई भोट माग्दै हिडन मिल्दैन । किनकी म यो देशमालाई कम्युनिष्टले मात्र समृद्ध बनाउन सक्छ भन्ने सपना देखेर हिडेको व्यक्त हुँ ।
तपाईको विचारमा रामेछापमा कसले निर्वाचन जित्ला बाम गठबन्धन कि कांग्रेस ?
–रामेछापमा बाम गठबन्धनले निर्वाचन जित्छ । निर्वाचन जित्ने आधारहरु छन् । स्थानीय तहको मतलाई हेर्ने हो भने पनि तीस हजार मतको अन्तर छ । बाम गठबन्धनले रामेछापमा मात्र होइन मूलकभर निर्वाचन जित्नु पर्छ । कांग्रेसले निर्वाचन जितेर यो मूलुकको समृद्धि हुँदैन ।

भाईले कांग्रेस रोज्दा तपाईले चाही किन बामगठबन्धन रोज्नु भएको नि ?
–सबैको आ–आफ्नो दृष्टिकोण र बुझाई हुन्छ । कांग्रेस विचार विहीन, सिद्धान्त विहीन भएकाले मलाई मन परेन त्यही भएर कम्युनिष्ट पार्टी रोजेको हुँ ।

हेर्नुहोस भिडियो

 

प्रतिक्रिया दिनुहोस्